गगनले रोजेका माइलालाई हराउँदै प्रदेशसभा सदस्य बने वेदबहादुर

images
  • 78
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    गगनले रोजेका माइलालाई हराउँदै प्रदेशसभा सदस्य बने वेदबहादुर
    images

    ७ मंसिर, पोखरा 

    असोज २३ गते मनोनयन गर्नुअघि पोखरामा कांग्रेसीजनभित्र चर्चा चुलियो, ‘एक से एक कांग्रेस नेता हुँदाहुँदै गगन थापाले टेबल ठोकेर दीपक गुरुङ ‘माइला’लाई टिकट दिए ।

    अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा नम्बर १३ को सदस्यमै पराजित माइलालाई कास्की क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा टिकट दिंदा धेरैले अचम्म मानेका थिए । चुनावी अभियानका क्रममा मादी गाउँपालिका र पोखरा सहरी वडामा पनि कांग्रेसको बाहुल्यता रहेको तथा दीपकको सम्बन्ध पनि राम्रो रहेकाले जित्न सक्ने बताइएको थियो । कांग्रेस महामन्त्री समेत रहेका गगन थापाले दीपकका लागि भिडियोमार्फत भोट अपील नै गरेका थिए ।

    दीपकलाई पराजित गर्दै कास्की-३ (२) मा यसअघि नै मादी गाउँपालिका अध्यक्ष भइसकेका एमाले नेता वेदबहादुर गुरुङ ‘श्याम’ विजयी भएका छन् ।

    एमालेका श्यामले १२ हजार ६६१ र कांग्रेसका दीपकले ११ हजार ७९४ मत प्राप्त गरे । राप्रपाका महेन्द्रबहादुर कार्कीले ३ हजार ६५६ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्ष निर्वाचित श्याम यो पटक प्रदेशसभा सदस्यका उम्मेवार बनेका हुन् । कास्कीको साविक सिल्दजुरे गाविस ताङतिङमा जन्मेका गुरुङले कलाकारको पहिचान पनि बनाएका छन् ।

    मादी गाउँपालिकामा पाँच वर्ष अध्यक्ष भएर काम गरेका ५२ वर्षीय गुरुङ प्रदेशको नीति निर्माण तहमा पुगेका छन् ।

    २०४५ सालमा अनेरास्ववियू एकता पाँचौंमा आवद्ध भएर उनको राजनीतिक यात्रा सुरु भएको हो । नेकपा एमालेको भातृ संस्था अनेरास्ववियू, युवा संघको विभिन्न तहमा बसेर काम गरेका गुरुङ २०५२ सालमा एमालेको तत्कालीन इलाका नम्बर ५ को उपसचिव भएका थिए ।

    नेकपा एमालेको क्षेत्रीय कमिटी, जिल्ला कमिटी, अञ्चल कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुँदै अहिले गुरुङ एमाले गण्डकीको सचिवालय सदस्य छन् । लोकतान्त्रिक तमु संघको अध्यक्ष रहेका गुरुङले गुरुङ फिल्म एसोसिएसन नेपालको दुई कार्यकाल अध्यक्ष भएर काम गरिसकेका छन् । २०४६, २०६२÷०६३ का आन्दोलनमा उनी पार्टीको तर्फबाट सक्रिय रुपमा सहभागी भएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend