काठमाण्डाै
प्रतिनिधि सभाअन्तर्गत १ सय ६५ क्षेत्रमध्ये ३ वटा क्षेत्रको मतगणना अझै सुरु भएको छैन । ८१ वटा क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ भने ८१ वटाको गणना भइरहेको छ ।
बाजुराको २ वटा मतदान केन्द्रको मतदान नै स्थगित भएको छ । त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको मतदान केन्द्रमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको थियो । फर्जी मतको विषयमा विभिन्न दलका कार्यकर्ताबीच झडप भएको र मतपेटिका खोस्ने प्रयास भएपछि गोली चलाएको प्रहरीले जनाएको छ ।
बाजुराकै बुढीगङ्गा नगरपालिकाको मतदान राजनीतिक विवाद एवम् कार्यकर्ताबीचको झडपका कारण स्थगित भएको थियो । त्यहाँ कांग्रेसले दुई वटा बुथ कब्जा गरेको एमालेको आरोप छ भने कांग्रेस नेताले एमालेले ४ वटा बुथ कब्जा गरेको आरोप लगाएका छन् । स्थगित गरिएका मतदान केन्द्रमा मङ्सिर १० गतेका लागि चुनाव तोकिएको छ ।
त्यस्तै स्याङ्जा र दोलखामा पनि मतदानका बेला समस्या भएको छ । स्याङ्जा क्षेत्र नम्बर २ मा र दोलखामा मतपेटिका सङ्कलन भइसकेको भए पनि धाँधलीको आरोप लगाएर पुनः मतदानको माग भएको छ । आरोपहरूबारे छानबिन भइरहेको निर्वाचन आयोगले जनाएको छ । तीन वटा निर्वाचन क्षेत्रमा विवाद रहेका कारण अन्तिम मत परिणाम आउनमा ढिलाइ हुने भएको छ ।



