काठमाडौँ, मङ्सिर ८
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आम मतदाताको भावना, प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्ने प्रतिबद्धता र सङ्कल्प गर्नुभएको छ ।
यस निर्वाचनमा जनताद्वारा तनहुँ जिल्लाको विकासको जिम्मा गठबन्धनलाई प्राप्त भएको महसुस गरेको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले निर्वाचनले दिएको सन्देशको गम्भीर विश्लेषण गरी आजको आवश्यकता सुशासन, समृद्धि र विकासलाई ध्यान दिँदै राष्ट्रिय राजनीतिमा तनहुँको प्रतिष्ठाजनक भूमिका स्थापित गर्दै समग्र मुलुक र तनहुँ जिल्लाको विकास गर्न आम जनताको साझा प्रतिनिधिका रूपमा कार्य गर्ने र देशलाई सुशासन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले यस निर्वाचनलाई सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण मतदाता, निर्वाचन आयोग, निर्वाचनमा अहोरात्र खटिनुभएका सबै कर्मचारी, सुुरक्षाकर्मी, सञ्चारकर्मी, निर्वाचन पर्यवेक्षक तथा गठबन्धनका सहयात्री दललगायत आम तनहुँबासीलाई समेत आभारसहित धन्यवाद ज्ञापन गर्नुभएको छ । रासस



