जनकपुरधाम, मङ्सिर ११
मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद हुनुभएको छ ।
विसं २०७४ मा राष्ट्रिय जनता पार्टीबाट सोही क्षेत्रबाट निर्वाचित राय अहिले पनि माओवादी होइनन् । उहाँ डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको अध्यक्ष हुनुहुन्छ । पार्टी फरक भए पनि उहाँ यसपटक गठबन्धनका कारण माओवादी केन्द्रको चुनाव चिह्न हसियाँ हथौडा लिएर चुनावमा होमिनु भएको थियो ।
को हुन राय ?
राय नेपाली राजनीतिको परिचित नाम हो । विसं २०६२/६३ अघिसम्म एमालेबाट राजनीति गर्नुभएका राय सो पार्टीको केन्द्रीय सदस्यसमेत बन्नुभयो । सोही पार्टीबाट २०५१ को मध्यावधि निर्वाचन र २०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेर सर्लाहीबाट निर्वाचित हुनुभयो ।
तर २०६२÷६३ को आन्दोलनपछि एमाले परित्याग गरी तराई–मधेस लोकतान्त्रिक पार्टी स्थापना गरेर त्यसको महासचिव बन्नुभयो । राजनीतिक घटनाक्रमले मधेसवादी दल जुट्न र फुट्न थालेपछि उहाँ तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टी हुँदै राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको सदस्यसमेत हुनुभयो । पछि राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरम एकीकरण गरी बनेको जनता समाजवादी पार्टी हुँदै अहिले नेपाल समाजवादी पार्टीको आवद्ध हुनुहुन्छ ।
राय २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही–४ बाट विजयी हुनुभएको थियो । संविधान निर्माणपछिको पहिलो आमनिर्वाचन २०७४ मा पनि उहाँ सर्लाही–२ बाट निर्वाचित हुनुभयो । उहाँ २०५४ मा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र २०७४ को निर्वाचनपछि कृषि तथा पशुपक्षी विकासमन्त्री बन्नुभएको थियो । रासस



