वैशाख ३० गते देशभर एकैसाथ हुने स्थानीय निर्वाचनमा पाँच वर्षे कार्यकालका लागि ३५ हजार २२१ जना जनप्रतिनिधि चुनिँदै छन्। मुलुकका ७५३ वटै स्थानीय तहमा एकैचोटी हुने मतदानले ७५३ जना प्रमुख र उपप्रमुख निर्वाचित हुनेछन् भने ६ हजार ७४३ जना वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला सदस्य निर्वाचित हुनेछन्।

जनप्रतिनिधि बन्न प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा एक लाख ४५ हजार १० जना प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी मधेश प्रदेशमा ४० हजार ९२४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये प्रमुखमा १ हजार ४२०, अध्यक्षमा ८९३, उपप्रमुखमा ६८४, उपाध्यक्षमा ४७९, वडाध्यक्षमा ९ हजार ४२०, महिला सदस्यमा ७ हजार ८, दलित महिला सदस्यमा ६ हजार ६७१ र सदस्यमा १४ हजार ३४९ जनाको उम्मेदवारी परेको छ।
एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी कूल १३६ स्थानीय तह रहेको मधेश प्रदेशमा परेको उम्मेदवारी अरु प्रदेशको तुलनामा झण्डै दोब्बरले बढी हो।सबैभन्दा कम उम्मेदवारी गण्डकी प्रदेशमा १२ हजार ९ जनाको परेको छ। गण्डकी प्रदेशमा एक महानगर, २६ नगर र ५८ गाउँपालिका छन् । कूल ८५ स्थानीय तहमा प्रमुखमा १९१, अध्यक्षमा २५३, उपप्रमुखमा १३६, उपाध्यक्षमा २०७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। आयोगका तथ्यांक अनुसार वडाध्यक्षमा २ हजार ६३६, महिला सदस्यमा २ हजार ११८, दलित महिला सदस्यमा १ हजार ९४२ र सदस्य पदमा ४ हजार ५२६ जनाको उम्मेदवारी छ।
मधेस प्रदेशपछि दोस्रो बढी बागमती प्रदेशमा २२ हजार ६६५ जनाको उम्मेदवारी कायम रहेको छ। बागमतीमा १३ जिल्लामा तीन महानरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी ११९ स्थानीय तह रहेका छन्। ती पालिकाका प्रमुख बन्न ५१८, अध्यक्षका लागि ५१९, उपप्रमुख बन्न २९९ र उपाध्यक्षका लागि ३२३ जनाबीच प्रतिस्पर्धा हुनेछ। वडाध्यक्षमा ५ हजार,२२१, महिला सदस्यमा ४ हजार ३४, दलित महिला सदस्यमा ३ हजार ३३० र सदस्यमा ८ हजार ४२१ जनाको उम्मेदवारी रहेको आयोगले जनाएको छ।
चार उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी जम्म १०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा २२ हजार ४२६ जनाको उम्मेदवारी छ। प्रमुखमा ३९१, अध्यक्षमा ४९३, उपप्रमुखमा २७५, उपाध्यक्षमा ३९२, वडाध्यक्षमा ४ हजार ९२१, महिला सदस्यमा ३ हजार ९७७, दलित महिला सदस्यमा ३ हजार ७०७ र सदस्यमा ८ हजार २७० जनाको उम्मेदवारी रहेको छ।



