त्रिविले यसवर्ष पनि दिन सकेन एक वर्षे बीएडको विकल्प

images
  • 405
    SHARES
  • पौष १७, २०७९ आइतबार
    त्रिविले यसवर्ष पनि दिन सकेन एक वर्षे बीएडको विकल्प
    images

    १७ पुस, काठमाडौं

    त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायले यो शैक्षिक सत्रमा पनि ‘पोष्ट ग्रयाजुएट डिप्लोमा इन एजुकेसन’ को भर्ना नखोल्ने भएको छ ।

    त्रिविले एक वर्षे बीएड कार्यक्रम बन्द गरेर तीन सेमेस्टरको ‘पोष्ट ग्रयाजुएट डिप्लोमा इन एजुकेसन’ सुरु गर्ने गरी पाठ्यक्रम निर्माण गरिरहेको छ ।

    शिक्षा शास्त्र संकायका डिन प्रा.डा. चित्रबहादुर बुढाथोकीले सेमेस्टर प्रणालीको पाठ्यक्रम निर्माण नसकिएका कारण यो शैक्षिक सत्रमा भर्ना खोल्ने सम्भावना कम रहेको बताए ।

    उनले भने, ‘पाठ्यक्रम निर्माण कार्य द्रुत गतिमा हुन सकेको छैन । चैतमा भर्ना खोल्ने गरी काम सक्ने हाम्रो प्रयास हो तर सम्भावना कम छ ।’ पाठ्यक्रम निर्माण गर्ने विषय समिति अरु काममा लाग्नुपर्ने भएकाले ढिलाइ भएको डिन प्रा. डा. बुढाथोकीले बताए ।

    त्रिविले २०७७ को चैतमा एक वर्षे बीएड कार्यक्रम बन्द गरेर सेमेष्टर प्रणालीमा ‘पोष्ट ग्रयाजुएट डिप्लोमा इन एजुकेसन’ सञ्चालन गर्ने सूचना निकालेको थियो । तर एक वर्षे बीएड बन्द गरेको दुई वर्ष भइसक्दा पनि सेमेस्टर प्रणालीको पाठ्यक्रम बनाउन नसक्दा विद्यार्थीहरु समस्यामा परेका हुन् ।

    शिक्षाबाहेक अन्य संकायबाट स्नातक उत्तीर्ण गरेर शिक्षण पेशामा लाग्न चाहने विद्यार्थीहरूले एक वर्षे बीएड उतीर्ण गर्नुपर्ने सरकारी नियम छ । त्रिविले भएको एक वर्षे बीएड कार्यक्रम बन्द गरेर अर्को विकल्प नदिँदा विद्यार्थीहरु समस्यामा परेका छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend