पार्टीले पत्याएन सुमितालाई जनताले जिताए

images
  • 315
    SHARES
  • जेठ ५, २०७९ बिहीबार
    पार्टीले पत्याएन सुमितालाई जनताले जिताए
    images

    पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेकी सुमिता डल्लाकोटी अत्यधिक बहुमतले निर्वाचित भएकी छन्।

    asasa.jpg

    स्थानीय तहको निर्वाचन नजिकिंदै जादा चितवनको राप्ती नगरपालिका-७ की सुमिता डल्लाकोटी उत्साहित थिइन्, चुनाव लड्न। तर, जब टिकट वितरण गर्ने समय आयो, पार्टीले पत्याएन।

    त्यसपछि उनले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिइन्। “पार्टीले टिकट नदिएपछि मैले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरें,” उनले भनिन्, “जनताले साथ दिए।”

    उनले गुलाफको फूल चुनाव चिह्न पाएकी थिइन्। त्यही चुनाव चिह्न मार्फत उनले आफ्नै दल नेकपा (एमाले) उम्मेदवार छविलाल भुसाललाई ४१६ मतले पराजित गरिन्।

    डल्लाकोटीले एक हजार ११० मत पाइन् भने प्रतिस्पर्धी एमालेका भुसालले ६९४ मत पाए। तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका यमबहादुर गुरुङले ६७८ मत पाए।

    “एमालेको राम्रो प्रभाव रहेको मेरो वडामा पार्टीले टिकट नदिए पनि वडाबासीले साथ दिए,” उनी भन्छिन्, “वडाबासीकै समर्थनले विजयी भएँ।”

    उनी २०७४ सालमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएकी थिइन्। पाँच वर्षमा वडाबासीलाई सन्तुष्ट हुने गरी काम गरेको उनले सुनाइन्।

    उनले नगरपालिकामा विधान समितिको संयोजक भएर काम गरेकी थिइन्। पालिका स्तरको कानून बनाउनका लागि आएका नमूना कानून अध्ययन गरेर कानून, कार्यविधि, निर्देशिका बनाएको उनले बताइन्। उनले तत्काल गर्नुपर्ने, निरन्तरका लागि गर्नुपर्ने, दिगो विकासको लागि गर्नुपर्ने विषय र योजना छुट्याएर काम गरेको बताइन्।

    पाँच वर्षको काम देखेर पार्टीले स्याबासी देला भन्ने लागेको थियो। तर, उल्टै टिकट समेत पाइनन्। त्यसपछि स्वतन्त्र उम्मेदवार बनेकी उनी अत्यधिक मतले निर्वाचित भएकी छन्। “वडाबासीले दिएको मतको कदर गर्दै जिम्मेवारी पूरा गर्नेछु,” नवनिर्वाचित वडाध्यक्ष डल्लाकोटीले भनिन्।
    https://www.himalkhabar.com/news/130042?fbclid=IwAR1_JN4nWfMzvs9EYUw4F7aWl2Q8QP93fpySNYdIaNsQWkqy4J1DcOaIklg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend