स्वतन्त्र उम्मेदवारले १ भोट पनि पाएन,आफुले हालेको भोट पनि हरायो

images
  • 646
    SHARES
  • जेठ ५, २०७९ बिहीबार
    स्वतन्त्र उम्मेदवारले १ भोट पनि पाएन,आफुले हालेको भोट पनि हरायो
    images

    hjghj.jpg

    गोरखा

    भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन्। ढकालले चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए । राजनीतिप्रति बितृष्णा जाग्दै गएपछि स्वतन्त्र उमेद्वारी दिएका ढकालाई वडाबाट १ मत पनि प्राप्त भएन।

    १४६९ मत खसेकोमध्ये उनले १ मत पनि नपाएका हुन् । मतगणना सकियो । माओवादी केन्द्रका उम्मेदवार बिष्णु कुमार श्रेष्ठ वडाध्यक्ष बने।

    आफूले हालेको भोट पनि हरायो !

    निर्वाचन अधिकृत कार्यालयले वडा भरको मतपरिणाम सार्वजनिक गर्‍याे । तर, ढकाललाई १ मत पनि प्राप्त भएको देखिएन । त्यसपछि सामाजिक सञ्जालहरुमा ढकाल आफैले आफैलाई समेत मतदान नगरेको भन्दै बिभिन्न पोष्टहरु आउन थाल्यो ।

    आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि अहिले ढकाल तनावमा छन् । ‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत देखाइएन। मेरो मत खोज्न अब अदालत जानेछु’, ढकाल भन्छन् ।

    आफुले आफैँलाई मत जाहेर नगरेको विषयमा सामाजिक सञ्जालहरुमा आफूमाथि नैतिक प्रश्न उठेपछि निर्वाचन अधिकृतसँग ढकाल जवाफ लिन गए । तर, अधिकृत कार्यालयले मत नै नआएको भन्दै फर्काएको उनी बताउँछन् ।

    उनी भन्छन्, ‘मैले आफुलाई मत जाहेर गरेको छु, बदर पनि भएको छैन, कसरी मेरो मत हरायो ? मतगणना गर्दा निर्वाचनका कर्मचारीले कुन हदसम्म लापार्बाही गर्दा रहेछन् भन्ने यो घटनाले पुष्टि गरेको छ ।’

    निर्वाचन अधिकृत खिमानन्द गौतमले भने कार्यालयबाट मतगणना गर्दा कुनै त्रुटी नभएको दावी गर्छन् । उनी भन्छन्, ‘गणना गर्दा सबै दलको प्रतिनिधि बसेर गणना गरेको हो, सबै विवरण प्रष्ट छ । त्रुटी भएकै छैन् । उहाँलाई चित्त नबुझेमा उच्च अदालत जान सक्नुहुन्छ ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend