पाँच महिनापछि घर फर्के देवघाटका राम

images
  • 623
    SHARES
  • आश्विन २२, २०८१ मंगलबार
    पाँच महिनापछि घर फर्के देवघाटका राम
    images

    भरतपुर

     हात भाँचिएपछि उपचारका लागि चितवन आएका तनहुँका रामबहादुर भुजेल पाँच महिनापछि सोमबार घर फर्किएका छन् । भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचाररत ११ वर्षका राम दसैँ मनाउन तनहुँको देवघाट–४, सिङ्चाङस्थित घर गएका हुन् । भीरबाट लडेर हात भाँचिएको वर्षदिन बितिसक्दासमेत उपचार नपाएको खबर चितवन पोष्ट दैनिकमा प्रकाशित भएपछि भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरले निःशुल्क उपचार गरेको थियो ।

    परिवारको आर्थिक अवस्था दयनीय भएपछि भुजेल समाजसेवा समिति चितवनले रामबहादुरको उपचारमा सहजीकरण गर्दै आएको थियो । समितिका अध्यक्ष रामबहादुर भुजेलले आफैँसँग राखेर बिरामी रामबहादुरको उपचार गराउँदै आएका छन् । समितिले बिरामी रामबहादुरलाई भरतपुरमै विद्यालय भर्ना गराइदिएको छ ।

    अध्यक्ष रामबहादुरका अनुसार भरतपुर–१५, फूलबारीस्थित गौतम आधारभूत विद्यालयमा कक्षा १ मा भर्ना भएका छन् । ‘विद्यालयले दिएको गृहकार्य सकिएपछि घर जान्छु भन्यो । दसैँको बेला भएकोले हामीले पनि परिवारसँगै दसैँ मनाओस् भन्ने चाहेर रामलाई घरसम्म पु¥याएर फर्कियौँ’, उनले भने, ‘रामको गाउँ पुगेपछि उनको परिवारको अवस्थाबारे थप बुझ्ने मौका पनि मिल्यो ।’

    रामको पाखुरामा हड्डी जोड्ने प्रक्रिया नसकिएको हुँदा दसैँलगत्तै शल्यक्रिया गर्ने तयारी भइरहेको उनले बताए । रामको दायाँ पाखुराको हड्डी नै कुहिएपछि शल्यक्रियामार्फत हड्डी जोड्नुपर्ने उपचारमा संलग्न वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. प्रमोद लामिछानेले बताएका छन् । रामलाई पु¥याउन भुजेल समाजसेवा समिति चितवनका अध्यक्ष रामबहादुर भुजेल र सचिव सञ्जय भुजेल चितवनको भोर्लेपारि सिङ्चाङ पुगेका थिए ।

    रामको घर बनाउन सघाउने

    रामबहादुर भुजेलको संयुक्त परिवार बस्दै आएको रातमाटेको घर गत वैशाख २५ गते चट्याङ लागेर खरानी भएको थियो । त्यसयता उनीहरु सिङ्चाङमा अर्काको घरमा बसिरहेका छन् । आर्थिक अभावकै कारण घर बनाउन नसक्दा यसवर्षको बर्खा अर्काकै घरमा बसेर बिताएका छन् ।

    घर बनाउन केही दाताहरुले सहयोग गरे पनि पर्याप्त नभएपछि घर बनाउने काम सुरू भए पनि निर्माण हुन नसकेको भुजेल समाजसेवा समिति चितवनका सचिव सञ्जय भुजेलले बताए । ‘भुजेल परिवारको ताजा अवस्था बुझेपछि घर बनाउने काममा हामीले पनि सघाउने आश्वासन दिएर आएका छौँ’, उनले भने, ‘घरको जग खार्ने र केही निर्माण सामग्री पुगिसकेको हुँदा त्यसलाई सदुपयोग गरिसकेपछि छानो हाल्ने काममा हामीले सघाउँछौँ ।’

    फोटो क्याप्सन ः
    परिवारसँग भेट भएपछि रामबहादुर भुजेल ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend