पर्यटनमा देवघाट: छरछरेदेखि घण्टाचुलीसम्मको आकर्षक गन्तव्य

images
  • 1.1K
    SHARES
  • आषाढ २३, २०८२ सोमबार
    पर्यटनमा देवघाट: छरछरेदेखि घण्टाचुलीसम्मको आकर्षक गन्तव्य
    images

    तनहुँ

    धार्मिक आस्थाको केन्द्र मानिने देवघाटलाई मात्रै देवघाट भनेर चिन्नेहरु धेरै छन्, जहाँ कालीगण्डकी र त्रिशूली नदी मिसिएको छ। तर, देवघाट त्यतिमा मात्र सीमित छैन। वेणी संगमजस्तै देवघाटका विभिन्न स्थानमा ऐतिहासिक एवम् धार्मिक गन्तव्यहरु प्रशस्तै छन्। ती गन्तव्यबारे प्रचारप्रसार गर्नका लागि गाउँपालिकाले विभिन्न स्थानमा घरबाससमेत सञ्चालनमा ल्याएको छ।

    1-57-2048x1536.jpg

    त्यस्ता गन्तव्य र घरबासबारे प्रचारप्रसार गर्न देवघाट गाउँपालिकाले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनमार्फत क्षेत्र भ्रमणको कार्यक्रम आयोजना गर्‍यो। सञ्चारमाध्यममार्फत देवघाट गाउँपालिकाको परिचय बोकेका स्थानहरुको अवलोकन गर्ने र त्यसको प्रचारप्रसार गर्न क्षेत्र भ्रमण कार्यक्रम आयोजना गरेको गाउँपालिकाले जनाएको छ।

    1676548958-ekCnL.jpg

    गाउँपालिकाभित्र छरछरे झरनादेखि घण्टाचुलीसम्मको आकर्षक गन्तव्य छन्। ती क्षेत्रलाई आवश्यक प्रचारप्रसार गर्न सके देवघाट गाउँपालिकाको विकासमा टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए। ती क्षेत्रमा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि गाँस, बासका लागि ठाउँ–ठाउँमा घरबासको समेत व्यवस्था मिलाइएको उनले बताए।

    WhatsApp Image 2025-04-22 at 13.34.22_e918e63c.jpg

    भरतपुर तथा नारायणगढ क्षेत्रबाट नजिकदेखि टाढासम्मको दूरीमा सामुदायिक घरबास सञ्चालनमा रहेको हुँदा देवघाट गाउँपालिकाको कुनै पनि क्षेत्र घुम्न जाँदा बसोबासको समस्या नहुने उनले दाबी गरे। वडा नं–१ को गोपीटारदेखि वडा नं–२ को कराँदीप हुँदै वडा नं–३ को छिपछिपे, वडा नं–१ र २ मा पर्ने घण्टाचुलीलगायतका क्षेत्रमा बसोबास गर्न कुनै समस्या नरहेको उनले बताए।

    WhatsApp Image 2025-04-04 at 20.14.33_a697e441.jpg

    गाउँपालिकाले छरछरे झरना घुम्न जानेहरुका लागि लक्षित गरेर गोपीटार र कराँदीपमा सामुदायिक होमस्टे नै सञ्चालन गरेको छ। यी दुई होमस्टेका बीचमा झरना पर्ने हुँदा भरतपुरसम्म फर्किन नभ्याइनेहरुका लागि कराँदीप या गोपीटार जता गए पनि सहज हुने गरी व्यवस्थापन मिलाइएको गाउँपालिकाले जनाएको छ। तर, आवश्यक प्रचारप्रसार हुन नसक्दा नजिकको दूरीमा रहेर पनि गोपीटार सामुदायिक होमस्टे सञ्चालनमा कठिनाइ भएको होमस्टेका अध्यक्ष शमशेर गुरूङले बताए।

    ‘२०७५ सालमा होमस्टे स्थापना भए पनि पाहुनाको आगमन अलि कम छ’, उनले भने, ‘होमस्टेमा आउने पाहुनालाई भने हामीले सक्दो यहीँकै स्थानीय उत्पादनमार्फत स्वागत गर्दै आएका छौँ । मौसमअनुसारको खानपानका परिकारलाई प्रवर्द्धन गर्दै आएको उनले बताए। यसपटक गाउँपालिकाले प्रचारप्रसारका लागि गरेको प्रयासले गोपीटारबासीमा थोरै भए पनि आशा पलाएको उनले बताए।

    WhatsApp Image 2025-04-22 at 13.33.28_6a915d31.jpg

    गाउँपालिकाले हरेक वर्ष योजनासहित कार्यक्रम गरिदिए गोपीटार र कराँदीपमा रहेको होमस्टे सञ्चालनलाई छरछरे झरनासँग जोडेर काम गर्न सकिने होमस्टे सञ्चालकहरु नै बताउँछन्। वडा नं–१ र २ को सिमानामा पर्ने हुँदा छरछरेको राम्रो प्रचारप्रसार गरेर गाउँपालिकाले थोरै सहयोग गरिदिने हो भने दुवै होमस्टेलाई सोही झरनाले निकट बनाउन सक्ने कराँदीप सामुदायिक होमस्टेका संस्थापक अध्यक्ष युवराज मगर बताउँछन्।

    कराँदीपमा बसेर खाल्टे, कोटबैदी, छिपछिपे हुँदै घण्टाचुलीसम्म पुगेर प्याउलीगढीको बाटो भएर सिञ्चाङगढी हुँदै गाईघाट झर्न सकिने उनले बताए। देवघाट आउने कुनै पनि व्यक्ति एउटै बाटो फिर्ता हुन नपर्ने उनले बताए। सरकारले देवघाट क्षेत्रको सडक विस्तारमा मात्रै ध्यान दिन सके देवघाटका स्थानीयले कृषि र पर्यटनबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ।

    WhatsApp Image 2025-04-22 at 13.33.05_9b9e6e42.jpg

    घना जङ्गल र कुहिरोमाथि आफू बसेको महसुस गराउने घण्टाचुलीको डाँडोले जोकसैको ध्यान खिच्न सक्ने देखिन्छ। समुद्री सतहबाट करिब साढे १६ सय मिटरको उचाइमा रहेको घण्टाचुली जस्तोसुकै गर्मीको मौसममा पनि चिसो अनुभव गर्न सकिने ठाउँ हो। घण्टाचुलीबाट तल देखिने कुहिरो र त्यसले दिने शीतलताले मनै आनन्द तुल्याएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका उपाध्यक्ष उर्गेन तामाङ बताउँछन्।

    tulman-news-pic-3-1068x801.jpg

    चितवनबाट नजिकैको दूरीमा रहेर पनि प्रचारप्रसार नहुँदा यति सुन्दर ठाउँ पनि चर्चामा आउन नसकेको उनले सुनाए। चितवन बसाइका करिब डेढ दशक बिताइरहेका पत्रकार तामाङले पहिलोपटक पाइला टेक्ने अवसर पाएको बताए। ‘यस्तो ठाउँका बारेमा सबैभन्दा पहिले स्थानीयले ध्यान दिन जरूरी छ’, उनी भन्छन्, ‘स्थानीयलाई सरकारले सघाउनुपर्छ। त्यसपछि प्रचारप्रसारका लागि हामीजस्ता सञ्चारकर्मीहरुको भूमिका महत्त्वपूर्ण रहन्छ।’

    समग्र देवघाटको विकासका लागि गाउँपालिकाले कृषि र पर्यटन प्रवर्द्धनको कार्यक्रमलाई समेट्ने प्रयास हरेक वर्ष गरे पनि उक्त बजेट पर्याप्त नहुँदा सोचेजस्तो काम हुन सकेको छैन। तैपनि, गाउँपालिकाले प्रयास गर्न नछाडेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले बताए। हरेक वर्ष थोरै–थोरै बजेटमा काम गर्दा सोचेजस्तो प्रतिफल आउन अलि लामो समय पर्खिनुपर्ने बाध्यता रहेको उनले बताए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend