देवघाट गाउँपालिकाले पुनः श्रम स्विकृती दिन थाल्यो

images
  • 617
    SHARES
  • बैशाख २६, २०८० मंगलबार
    देवघाट गाउँपालिकाले पुनः श्रम स्विकृती दिन थाल्यो
    images

    देवघाट, बैशाख २६

    तनहुँको देवघाट गाउँपालिकाले पुनः श्रम स्वीकृति दिन थालेको । मंगलबार वडा नम्बर ५ फोश्रेपानीका शुरेश गुरुङले मलेसियाकोलागि देवघाट गाउँपालिकाबाट नै पुनः श्रम स्विकृती लिए । गाउँपालिकाबाट श्रम स्विकृती लिने गुरुङ पहिलो सेवा ग्राही रहेको गाउँपालिकाले जनाएको छ । उनलाई गाउँपालिकाका श्रम तथा रोजगार संयोजक कर्ण गुरुङले श्रम स्विकृतीको पत्र हस्तान्तरण गरेका थिए ।

    श्रम तथा रोजगार मन्त्रालयको परिपत्र अनुसार गाउँपालिकाबाट नै श्रम स्विकृती दिने काम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने सुवेदीको भनाई छ । गाउँपालिकाबाट नै श्रम स्विकृती पाएपछि खुसी भएका शुरेशले अव बैदेशिक रोजगार पनि झन्झटिलो नभएको बताए ।

    श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । साथै बैंक खाता विवरण र पारिवारिक विवरण पनि लिएर आउनु पर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने रोजगार संयोजक गुरुङले बताए ।

    वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सकिने रोजगार संयोजक गुरुङले बताए ।

    अनलाइनबाटै श्रम स्वीकृतिको आवेदन दिन पर्ने र श्रम स्वीकृति पनि अनलाइनमार्फत नै पाइने व्यवस्था लागू भए पनि अनलाइन प्रणालीकै नाममा बिचौलियाहरूले ठगी गर्न थालेपछि त्यसको अन्त्यका लागि स्थानीय तहबाट नै श्रम स्विकृति दिन थालिएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।

    पालिकाहरूमा रहेका रोजगार सेवा केन्द्रले निःशुल्क अनलाइनमार्फत श्रम स्वीकृतिको आवेदन भरिदिन्छन् । राहदानी, करार सम्झौता, भिसा लगायतका कागजपत्रसहित आफ्नो पालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएपछि श्रम स्वीकृतिको आवेदन दिन पाइन्छ । श्रम स्वीकृति लिनकै लागि काठमाण्डौ धाउने वा श्रम तथा रोजगार कार्यालयमा गएर लाइन लाग्नु पर्दैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend