करिस्मा गुरुङ देवघाट तनहुँ
देवघाटमा फेरि एउटा नयाँ मोटरेबल पुल निर्माण हुने भएको छ। तनहुँ र चितवन जोड्ने गरी देवघाट गाउँपालिकाको वडा नम्बर ४ र भरतपुर महानगरपालिकाको वडा नम्बर २९ को गाईघाट जोड्ने गरी नयाँ मोटरेबल पुल बन्न लागेको हो।
पुल निर्माणका लागि करिब बीस करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। हाललाई काम सुरु गर्नका लागि दुई करोड रूपैयाँ बजेट विनियोजन भएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए। पुल निर्माणकार्य यही आर्थिक वर्षबाट सुरु हुने उनले बताए। सोही स्थानमा पुल निर्माण गर्न विगतका वर्षहरुबाटै पहल हुँदै आएको थियो। यसपटक भने राष्ट्रपति रामचन्द्र पौडेलले यहाँको स्थानीयको गुनासोलाई सम्बोधन गर्ने प्रयास गरेका हुन्। दुई जिल्ला जोड्ने गरी मोटरेबल पुल नहुँदा विगत लामो समयदेखि गाईघाटका जनता विकासबाट बन्चित छन्। पुल निर्माण भएपछि गाईघाट, रिसिङ, सानो भञ्ज्याङ र भीरकोटलगायतका स्थानीयलाई विशेष सुविधा पुग्ने छ। संघीय सरकारबाट हरेक वर्ष बजेट विनियोजन भयो भने तीन वर्षभित्र पुल निर्माण सम्पन्न हुने अध्यक्ष थापाले दाबी गरे।
देवघाट गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरूङका अनुसार ठूला नदीमा पुल नहुँदा आवागमन सहज नभएकोले त्यसको असर सिंगो वडाभरी परेको छ। गाईघाटमा पुल निर्माण भएपछि वडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने उनले बताए। पुल निर्माण भएपछि वडावासीलाई पालिकासँग सीधै जोड्ने कामले पनि पूर्णता पाउने उनले बताए। वडा नम्बर ४ पूर्वअध्यक्ष पदमबहादुर गुरूङले गाईघाटमा मोटरेबल पुल बन्ने भएपछि वडावासीलाई ठूलो राहत मिल्ने बताए।
आफू अध्यक्ष हुँदा पनि सक्दो प्रयास गरेको बताउँदै आगामी दिनमा आएको योजना समयमै सम्पन्न गराउनमा स्थानीय र राज्य दुवैको तर्फबाट योगदान दिनुपर्ने उनले बताए। यहाँका किसानले फलाएको सुन्तला बजारसम्म लैजानको लागि वडा ४ ज्यामिरेबाट गाईघाट सुन्तला ढुवानी गर्न के.जी.को चार रूपैयाँ लाग्थो भने अब एक रूपैयाँमै ढुवानी हुने गुरूङले बताए। त्यतिमात्र होइन, पुल निर्माण भएपछि देवघाट ४ का विभिन्न स्थानमा होमस्टे सञ्चालन गरी आन्तरिक पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको उनले बताए। यो वडाका भुजेल समुदायले मुख्य आम्दानीको स्रोत बनाउँदै आएको डोको, डालो, सोलीलगायत बाँसबाट उत्पादन भएका वस्तुहरूले पनि सहजरुपमा बजार पाउनेमा उनी आशावादी छन्।
यहाँका जनताले बजारसम्म जान आउनका लागि हाल झोलुङ्गे पुलको प्रयोग गरिरहेका छन्। तर, झोलुङ्गे पुलबाट आकस्मिकरुपमा बिरामी ल्याउन/लान असहज हुने गरेकोले पक्की पुलन निर्माण भएपछि त्यसबाट पनि मुक्ति पाइने गाईघाट बेलडाँडा टोल विकास संस्थाका अध्यक्ष नरबहादुर गुरुङले बताए। समय परिवर्तनशील रहेको हुँदा गाईघाटमा मोटरेबल पुल अति आवश्यक रहेको बताउँदै भावी दिनमा गाईघाटलाई एउटा बजारको रूपमा विस्तार गर्न सकिने उनले बताए।



