तनहुँ, असार १२
समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीविरुद्ध देवघाट गाउँपालिका कडारुपमा प्रस्तुत भएको छ। समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई गाउँपालिकाले कालो सूचीमा राखेर कारबाही गरेको हो। गाँउपालिकाको वडा नम्बर १, २ र ३ को सीमानामा पर्ने घण्टाचुली पर्यटन पूर्वाधार आयोजनाको ठेक्का लिएको कम्पनी मृत सञ्जिवनी–शिवशक्ति इको जेभीलाई कालोसूचीमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए। पटकपटक ताकेता गर्दासमेत काम नगरेपछि कालोसूचीमा राख्न बाध्य भएको उनले बताए।
प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार मृत सञ्जिवनी–शिवशक्ति इको जेभीलाई सम्झौताअनुसार काम सम्पन्न गर्न मौखिक तथा लिखितरुपमा पटकपटक पत्राचार गरिएको थियो। गाउँपालिकालाई प्राविधिक प्रतिवेदनअनुसार कार्य प्रगति नदिएकोले पनि ठेक्का सम्झौता तोड्नु (भंग) परेको उनले बताए।
सम्झौताअनुरूप कार्य सम्पन्न गर्ने अन्तिम मिति यही असार २८ गते सकिँदै छ। काम नै नगरेकोले अब म्याद थप नगरी ठेक्का तोड्ने र बैंक ग्यारेन्टी जफत गर्ने तयारी गरिएको गाउँपालिकका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए। बिहानी मिडियालाई प्राप्त जानकारीअनुसार देवघाट गाउँपालिकाले निर्माण कम्पनीलाई कालोसूचीमा राखेको यो पहिलो घटना हो।



