तनहुँ : असार १५
'जलवायु अनुकूलित कृषकमैत्री प्रविधि,धान उत्पादनमा वृद्धि' मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । त्यस्तै गरी आज देवघाटको विभिन्न ठाउँहरूमा पनि धान दिवस मनाएका थिए ।

देवघाट वडा ५ कालिमाटी वडा १ बर्षाखोला लगाएत अन्य वडामा पनि धान रोपेर धान दिवस मनाउनुका साथै मानो रोपेर मुरी फलाउने दिन मनाएका छन् । आज बिहान सबेरै ६/७ बजेतिरै आलिमा गई धानको बीउ उखेली धान रोप्ने तयारी गरेका थिए र सोही लगत्तै सबै गाउँका रोपारीहरू आएर धान रोप्नदै धान दिवस मनाएको हो । हलिले खेत सम्भ्याए लगत्तै रोपारीहरू धान रोप्न सकृय हुन्छन् र धान रोपिसकेपछि सबै जना हिलो खेलेर धान दिवस मनाएर घर फर्किएका थिए ।

नेपालमा अधिकांशको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान छुपुछुपु रोपिन्छ । 'छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला' जस्ता गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । आज दही चिउरा खाएर असार १५ मनाईंदै कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता पनि छ ।



