साउन ३१
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा आज बिहान भएको दुर्घटनाका घाइतेलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालमा नै पुगेर भेट गर्नुभएको छ । उहाँले भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा पुगेर घाइते र घाइतेका आफन्तलाई भेट गर्नुभएको हो ।
घाइते र घाइतेका आफन्तसँगको भेटपछि मन्त्री जोशीले अस्पताल प्रशासन र स्थानीय प्रशासनलाई घाइतेको उपचारमा कमी नगर्न निर्देशन दिनुभएको छ । उपचारका क्रममा काठमाडौँ पठाउनुपर्ने अवस्था आए मन्त्रालयसँग समन्वय गर्नसमेत उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “मैले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र अस्पताल प्रशासनलाई उपचारमा कमी नगर्न र यहाँ सम्भव नहुने भए थप उपचारका लागि काठमाडौँ पठाउन निर्देशन दिएको छु ।” यहाँ सम्भव नभएका बिरामीको उपचारका क्रममा आफूले सक्दो सहयोग गर्ने मन्त्री जोशीले बताउनुभयो ।



