पार्वती गुरूङको खेलयात्रा : क्वादीदेखि दक्षिण एसियाली कराँतेसम्म

images
  • 778
    SHARES
  • मंसिर १८, २०८० सोमबार
    पार्वती गुरूङको खेलयात्रा : क्वादीदेखि दक्षिण एसियाली कराँतेसम्म
    images
    तनहुँ, मंसिर १७
    करिश्मा गुरूङ
     
    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर–५ क्वादी निवासी सामान्य किसान परिवारमा जन्मे हुर्केकी चेली हुन्, पार्वती गुरूङ। नरबहादुर गुरूङ र माया गुरूङ दम्पत्तिका चार सन्तानमध्येकी कान्छी सन्तान् हुन्, उनी। सन्तानलाई उचित शिक्षादीक्षा दिलाउने अभिलाषासहित करिब दुई दशक अगाडि क्वादीबाट भरतपुर झरेका थिए, नरबहादुरको परिवार। बालबच्चाको भविष्यको लागि भन्दै सहर झरेका नरबहादुरले भरतपुरमा धेरै नै दुःख कष्ट व्यहोरे। बस्ने छाप्रोको बन्दोबस्त भए पनि आफ्नो नाममा जग्गा नहुँदा उनी सुकुम्बासीको रूपमा बसेका थिए।
    401002632_733886345285137_3259966833623761615_n.jpg
     
    सानै उमेरदेखि पढाइसँगै नाचगान र खेलकुदमा विशेष रूचि देखाउँदै आएकी पार्वती बुवाआमासँगै सहर झर्दा जम्मा तीन वर्षकी थिइन्। भरतपुर–१६, ढड्डाघारी स्कुलबाट एसइइ दिएपछि मिलेनियम कलेजबाट कक्षा कक्षा १२ उत्तीर्ण गरेकी उनी अहिले नारायणगढस्थित बालकुमारी कलेजमा होटल म्यानेजमेन्टतर्फ स्नातक तह अध्ययन गर्दैछिन्। खेलकुदमा पनि औधि रूचि रहेको हुँदा उनले पढाइसँगै खेलकुदलाई सँगै अगाडि बढाइन्। विद्यालयदेखि नै खाली समयमा खेलकुदमा रमाउने स्वभावकै कारण उनी हरेक दिन साथीहरूसँग खेल्न निस्कन्थिन्। यही क्रममा उनले निकै दुःख गरेर कराँते सिकिन्। स्कुलमा कराँते सिक्न सुरू गरेदेखि विभिन्न ठाउँमा हुने प्रतियोगिताहरूमा समेत सहभागी हुने मौका पाइन्।
     
     
    ‘मिहिनेत गरे के हुँदैन र’ भन्ने नेपाली भनाइलाई चरितार्थ गर्दै उनले निकै मिहिनेत गरिन्। र, हरेक प्रतियोगितामा उत्कृष्ट खेलाडीको रूपमा आफूलाई स्थापित गराउन सफल भइन्। त्यो देखेर आफूलाई सिकाउने कराँतेका प्रशिक्षक र घर परिवार दुवैतर्फबाट हौसला पाउन थालिन्। विद्यालयस्तरीय, जिल्लास्तरीय, प्रदेशस्तरीय हुँदै विभिन्न तहका प्रतियोगितामा उनले आफ्नो दर्जा कायम राख्दै आइन्। यही क्रममा यही मङ्सिर १६ गते राजधानीस्थित दशरथ रंगशालामा भएको सातौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छिन्। दक्षिण एशियाली प्रतियोगिताको पहिलो दिनमै महिला ४५ केजीमुनिको प्रतियोगितामा पार्वती च्याम्पियन बन्न सफल भइन्।
     
    377152143_1113108213384362_1523569073377989770_n.jpg
    फाइनलमा बंगलादेशकी अर्पा सलिहाको चुनौतिलाई समाप्त पार्दै बिजेता बनेकी हुन्, पार्वती। योसँगै १९ वर्ष पुगेकी पार्वतीले अब विभिन्न देशमा हुने प्रतियोगिताहरूमा भाग लिन पाउने ढोका खोल्न सफल भएकी छन्। उनले कुमुते (फाइट) विधामा नेपालको तर्फबाट स्वर्ण पदक हासिल गरेकी हुन्। ब्रह्मपुर डोजोका खेलाडी पार्वतीसँगै अर्की खेलाडी निक्षा थापामगरले पनि रजत पदक हासिल गरेकी छन्। डोडोका प्रशिक्षकहरूको कारणले आफूले सफलताको सिँढीँ चढ्न सफल भएको पार्वती बताउँछिन्। हरेक वर्ष सार्क राष्ट्रहरूबीच हुँदै आएको कराँते प्रतियोगिता यस वर्ष नेपालमा भएको हो। उक्त प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, श्रीलङ्का (एनओसी टिम) भुटान र पाकिस्तानबाट १०३ महिला र १३४ पुरूष गरी २३७ खेलाडी सहभागी थिए।
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend