देवघाट । भीमबहादुर रानामगरले ६० को दशकसम्म निकै कष्टपूर्ण जीवन बिताए। ल्हुङ्ग्रीङ गाउँको पखेरो बारीमा मुस्किलले १० मुरी अन्न उब्जाउ हुन्थ्यो। परिवारमा भने १६ जना थिए। त्यो पनि कोदो र मकैको विकल्प थिएन। सेपिलो बारी भएकोले कुनै समय त्यही १० मुरी फलाउन पनि गाह्रो हुन्थ्यो। भिरालो जग्गा भएकोले गाउँमा अधियाँ नगरे कुनै दिन परिवारको पेटमा अन्नको गेडो पर्थेन।
मुटुको समस्याका कारण बुबा पहिलेदेखि नै अस्वस्थ। भाइबहिनी सबै साना। आफू घरको जेठो सन्तान भएपछि सिङ्गो परिवारको जिम्मेवारी उनकै काँधमा थियो। ३८ सालमा आएको भलबाढीले भिरालो बारी नराम्रोसँग बिगारिदियो । ठूल्ठूलो खाल्डो बनाइदियो। त्यसलाई सुधारेर पुरानै तरिकाले खेतीपाती गर्दैगर्दा २०४८ सालमा फेरि भलबाढी आएर बारीमा भएको मकै सखाप बनाइदियो। त्यसपछि बुबाआमा र भाइबहिनी सबै यो वर्ष के खाएर बाँच्ने भनेर भीमबहादुरसँगै अँगालो हालेर रोए। जवान भीमबहादुर अक्क न बक्क भए।
परिवारको सङ्ख्या बढ्दै जाने र गरिबीले झन्झन् थिच्दै जाने भएपछि उनले गाउँ छाड्ने निधो गरे। चाडबाड आउँदा गाउँलेले एकछाक मासुसमेत नपत्याउने भएपछि गाउँ छाड्नुको विकल्प भएन उनीसँग। ‘जसोतसो लिएर आए पनि यो मासुको पैसा कहाँबाट ल्याएर तिर्छस् बाबु हो, जहाँबाट ल्याएको हो त्यतै फर्काएर लैजा भन्नुहुन्थ्यो आमाले’, उनी सम्झिन्छन्। जम्मा दस रूपैयाँको मासु खाएको पैसा संकलन गर्न निमेक गर्न जाँदा जम्मा पाँच सुका पाउँथे। त्यति पैसाले कहिले दस रूपैयाँ पुर्याउने भन्ने चिन्ता हुन्थ्यो।
जीवन चल्नै नसक्ने गरी सङ्कटग्रस्त अवस्थाको सामना गर्नुपर्ने भए पनि उनले देश छोड्ने सोच बनाएनन्। ‘मैले नेपाल छोडेर अरु देशको भूमि टेकेको छैन’, उनी भन्छन्, ‘जति दुःख पाए पनि आफ्नै देशमा संघर्ष गर्नुपर्छ भन्ने अठोट लिएर हिँडेँ।’
२०३८ सालको बाढीले गाउँ नै तहसनहस बनाएपछि २०४१ सालमा तराई झरे। नारायणघाट, गैँडाकोटलगायतका क्षेत्र पुगेर केही समय निकै संघर्ष गरे । त्यति गर्दा पनि उपाय नलागेपछि उनी फेरि गाउँ फर्किए। र, पखेरो रुखो बारीमा सुन्तलाका बेर्ना रोपे। २०५८ सालदेखि सुन्तला लगाउन सुरू गरेका उनले पहिलो वर्ष २०६२ सालमा एक हजार सात सय रूपैयाँ आम्दानी गरे।
बिनाअनुभव, बिनाजानकारी जे होला होला भनेर लगाएको सुन्तलाले राम्रो आम्दानी दिन थाल्यो। ‘अरु अन्न उत्पादन नहुने ठाउँमा भए खाऊँला, नभए के भो र भनेर लगाएको सुन्तलाले उत्पादन राम्रै दिन थाल्यो’, उनले भने, ‘त्यसपछि सुन्तलाको क्षेत्र विस्तार गर्दै अहिले तीन सयवटा बिरूवा लगाएको छु।’ उनका भाइहरुले पनि सबै सुन्तला नै लगाएका छन्। ‘हामी छ भाइमा सबैले सुन्तला नै लगाएका छौँ। हाम्रो मुख्य आम्दानीको स्रोत भनेकै यही सुन्तला हो।’
बारीको सुर्को, कान्ला, पखेरो सबैतिर सुन्तला लगाएपछि गाउँमा भलबाढी र पहिरोजस्ता नियमित समस्यालाई पनि टाढा बनाएको छ। ‘पहिले त पानी परेपछि घरै बगाउलाजस्तो गरी भल आउँथ्यो। बर्खा लागेपछि कुन बेला उठीबास लगाउने हो भन्ने चिन्ताले सधैँ पिरोल्थ्यो’, उनी भन्छन्, ‘अहिले त गाउँ नै शान्त बनेको छ। कान्ला, सुर्को सबैतिर सुन्तला लगाएपछि गाउँको रक्षा भएको छ।’
सुन्तलाका लागि सुहाउँदो हावापानी भएपछि गाउँमा सोचेभन्दा राम्रो उत्पादन दिएको छ। ठूलो दाना, मीठो स्वाद र गुणस्तरीय उत्पादन भएको हुँदा सरकारबाटै अघिल्लो दुई वर्षसम्म लगातार देशकै उत्कृष्ट सुन्तला बगैँचा घोषित भएको थियो। यसवर्ष पनि उक्त उपाधि कायम रहने उनको दाबी छ। बारीको कुनै पनि डिल र कुना खाली छैन।
खनजोत गर्नै नमिल्ने पखेरोमा पनि लटरम्म सुन्तला फलाएका छन्। बिनामेसै लगाएको सुन्तलाबाट यसपालिमात्रै कम्तीमा २५ लाख रूपैयाँ आम्दानी गर्ने अनुमान छ। कुल कारोबार कम्तीमा पनि ५५ लाख रूपैयाँभन्दामाथि हुने उनले बताए।
त्यसमा सुन्तला टिप्ने ज्याला, बजारसम्म लैजाने ढुवानी, व्यापारीलाई दिने कमिसन, सरसफाइ खर्च, क्रेट व्यवस्थापनलगायतका शीर्षकमा खर्च हुन्छ। सबै खर्च कटाएर किसानको हातमा ५० प्रतिशत रकम बच्ने उनले बताए। ‘कम्तीमा पनि ५० देखि ५५ लाख रूपैयाँजतिको कारोबार हुने अनुमान छ। त्यसमा बजारसम्म लगेर उपभोक्ताको हातसम्म पुर्याएर फर्किंदा करिब २५ लाख रूपैयाँभन्दा बढी आम्दानी हुने देखिन्छ’, उनले भने।
सुन्तलाकै कारण हिजो अरुको अधियाँ नगरी खान नपुग्ने भीमबहादुरको परिवार अहिले लखपति भएको छ। फलमात्र नभई बिरूवासमेत उत्पादन गरेर आम्दानी बढाएका छन्। उनले नर्सरी बनाएर उत्पादन गरेको सुन्तलाको बिरूवा तनहुँ जिल्लासँगै स्याङ्जा, धादिङलगायतका जिल्लामा समेत पुगिसकेका छन्। करिब दुई दशकसम्मको किसानीले उनलाई थप अनुभवी बनाउँदै लगेको छ। सुन्तला बेचेर हातमा पैसाको बिटो आउँदा उनी विगत सम्झिन्छन्। र, भक्कानिन्छन्।
‘विगतका दुःख र संघर्ष सम्झिँदा अहिले पनि पीडा महसुस हुन्छ’, उनी भन्छन्, ‘तर त्यो बेला र अहिलेमा तुलना गर्नै मिल्दैन। किनकि हिजो म साथीभाइसँग दस रूपैयाँ माग्नेमा थिएँ। आज तिनै साथीभाइ मसँग दस लाख रूपैयाँ चाहियो भनेर माग्न आउँछन्।’ वर्तमानमा विगतका भोगाइ सम्झिँदा हर्षको आँसु आइरहने उनी बताउँछन्।
अहिले भीमका दाजुभाइले मात्रै करिब दुई हजार दुई सय बिरूवा लगाएका छन्। त्यसमध्ये जम्मा ३० प्रतिशत बिरूवाले मात्रै उत्पादन दिएको छ। बाँकी उत्पादन दिने क्रममा रहेको उनी बताउँछन्। अहिले सबै दाजुभाइ छुटभिन्न भए पनि समग्रमा यो परिवारमा मात्रै सुन्तलाखेतीबाट वर्षमा करिब ५५ लाख रूपैयाँको हाराहारीमा आम्दानी हुने गरेको छ। समग्र गाउँकै कुरा गर्ने हो भने यो वर्ष करिब दुई करोड ५० लाख रूपैयाँ यो गाउँमा भित्रिने अनुमान छ।
‘पोहोर साल अलि राम्रो उत्पादन थियो। र, तीन करोड रूपैयाँ यो गाउँमा भित्रिएको थियो’, उनले भने, ‘यसपालि अलि कम छ। साढे दुई करोडजति भित्रिने अनुमान छ।’ उनका अनुसार यसवर्ष उत्पादन कम भएको भनिए पनि सुन्तलाका हाँगाले फल नधानेर टेको लगाएर राखिएको छ। ल्हुङ्ग्रीङ गाउँमा फलेको सुन्तलाको मुख्य बजार दमौली, पोखरा, नारायणगढ र काठमाडौँ हो।
यो गाउँमा सवारी आवागमन सहज नभए पनि चारचक्के सानो जिपको माध्यमबाट भीरकोटको बाटो ऋषिङ हुँदै दमौली पुर्याइन्छ। अझ धेरैजसो सुन्तला कालीमाटी तरकारी बजार पुग्ने गरेको उनी बताउँछन्। उनका अनुसार गाउँदेखि कालीमाटी तरकारी बजारसम्म लगेको भाडामात्रै न्यूनतम ३६ हजार रूपैयाँ लिन्छ। अहिले गाउँमा धमाधम सुन्तला टिप्ने चटारो परेको छ।
गाउँमा उत्पादन भएको सुन्तलालाई बजारसम्म लैजानका लागि पनि उनै भीमले सहजीकरण गरिदिन्छन्। र, गाउँलेलाई पनि सजिलो भएको छ। उनी ल्हुङ्ग्रीङ गाउँका सफल सुन्तला किसान मात्र होइनन्, हाल देवघाट क्षेत्र विकास समितिका बहालवाला अध्यक्ष हुन्।