देवघाट मंसिर २५
नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा हरेक बर्ष लाग्ने बालाचतुर्दशी (शतबिज) छर्न भारत लगाएत विभिन्न देशबाट भक्तजनहरू देवघाट आउने गर्दछन । आज पनि देवताहरूले वासस्थान गर्ने देवघाटधाममा विभिन्न ठाउँबाट शतबिज छर्न भक्तजनहरू आएका छन् ।

यहाँ शतबिज छर्नको लागि भनेर आइतबार बेलुका नै देवघाट आएर भक्तजनहरू बस्ने गर्दछ । देवघाटधाममा हरेक वर्ष बालाचतुर्दशीको अघिल्लो रात आफ्नो पितृको नाममा बत्ती बालेर बगरमा जागराम बस्ने गरिन्छ । सो रातभर बत्ती बालेर बसे वापत पितृ उद्दार हुने र बिहान सतबिज छरेर पितृलाई बुझाउने भनाइ पनि छ । शतबिज छर्न यस वर्ष पनि देवघाटमा भक्तजनहरू लगभग ५० हजार भन्दा बढी भित्रीएको देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले बताउनु भयो । अध्यक्ष थापाले अघिल्लो वर्षको तुलनामा यो बर्ष तिर्थालु भक्तजनहरुको घुँईचो बढी रहेको बताउदैँ मेलालाई अघिल्लो वर्षमा भन्दा अलि फरक तरिकाले व्यवस्थापन गरिएको जानकारी दिनु भयो ।

साथै टाढाटाढाबाट आउनु भएका भक्तजनहरुलाई स्नान गर्ने क्रममा कुनै समस्य सिर्जना नहोस भन्ने उदेश्यले लगभग ४० जना सुरक्षाकर्मी खटाइएको उहाँले बताउनु भयो । देवघाटमा एक वर्षमा धेरै मेला पर्वहरू लाग्ने गर्छ तर मेला व्यवस्थापन भने प्रभावकारी कहिल्यै नभएको भक्तजनहरूले गुनासो पोखेका छन् । भक्तजनहरू धेरै टाढा बाट आएको हुन्छ तर यस्तो पवित्र ठाउँमा स्नान गर्नै समस्या सिर्जना हुन्छ, शौचालयको नाममा १/२ वटा अस्थायी शौचालय भएता पनि त्यसले मेलालाई झनै अव्यवस्थित बनाएको भक्तजनहरू बताउछन् । बालाचतुर्दर्शीको अघिल्लो रातभर गण्डकी र त्रिशुलीको वेणिसंगममा ठूलो संख्यामा भक्तजनहरु दियो बालेर जाग्राम बसेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताउनुभयो । चतुर्दशीको अघिल्लो रात आइतबार दिवङ्गत पितृका नाममा महादीपदान गर्न लाखौँ भक्तजन यहाँ आएर रातभर जाग्राम गर्ने परम्परा रहेको बरालले जानकारी दिनुभयो ।

आजका दिन देवघाटधामको त्रिशूली र कालीगण्डकीको संगम वेणीमा शतबीज छर्नाले दिवंगत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको छ । देवघाटमा भक्तजन ठुलो संख्यामा आउने भएको हुदाँ सुरक्षा,बत्ती, शौचालयलगायत व्यवस्थापनमा समितिले सकेको व्यवस्थापन गरेको बरालले बताउनुभयो । साथै भक्तजनलाई नदीमा आवतजावत गर्नका लागि डुङगाको व्यवस्था गरिएको छ । भक्तजनको संख्या पछिल्ला वर्षको सबैभन्दा बढी रहेको बताउदैँ दिवगंत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै बालाचतुर्दशीमा शतबीज छर्न लगभग २/३ बजेसम्म छर्न भक्तजनहरू देवघाट आएका थिए । बालाचतुर्दशीको अघिल्लो रात देवघाट आई रातभरी बत्ती बाली भजनकिर्तन गाउने र बिहान सबेरै नुहाएर पुजा आजा गरेर शतबिज छर्दै घर फर्कने गरेको पर्साबाट शतबिज छर्न देवघाट आएकी मेनुका अधिकारी बताईन् ।

शतबिज छर्ने क्रममा भक्तजन बिष्णु प्रसाद उपाध्ययले आफु पहिलोपटक देवघाटमा आएको बताउदैँ मेला व्यवस्थापनमा भने फितलो रहेको बताए । यो भन्दा अगाडि देवघाटका वडा अध्यक्षले मिडियामा मेला व्यवस्थापनमा सुधार गर्छु भनेता पनि सुधार भने नभएको उपाध्यक्षले गुनासो पोखे । उपाध्ययले तिर्थालु भक्तजनहरूले स्नान गर्ने ठाउँ निकै कस्टकर रहेको बताउदैँ आगमि दिनहरूमा भने यसलाई व्यवस्थित गर्न अनुरोध गरे । कुनै पनि अप्रृय घटना घट्न नदिई मेलालाई सम्पन्न गरिएको इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख कृष्ण बहादुर बानियाँले जानकारी दिनुभयो ।

देवघाट बोटे समाजका अध्यक्ष सरोज बोटेले मेला व्यवस्थापनमा चुस्त नभएको बताउदैँ देवघाट क्षेत्र विकास समिति र गाउँपालिकाले मेला व्यवस्थापनमा केही सुधारहरू गर्दै अगाडि बढ्न अनुरोध गरे । स्नान गर्ने क्रममा आपतकालीन दुर्घटना हुन सक्छ त्यसलाई मध्येनजर दुर्घटना हुनबाट जोगाउन सम्बन्धित निकाएले ध्यान दिन जरुरी रहेको बताए । देवघाटमा रातभर दियो बालेर जाग्राम बसी आज बिहान ३ बजेदेखि स्नान गरेर शतबीज छर्न थालिएको हो ।शतबीजमा धान,गहुँ,जौँ,कोदो,धान, हलेदो,सक्खरखण्ड लगायत चिजबीज मिसाएर छर्ने परम्परा छ ।




