देवघाट
देवघाट गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८० को बजेटको शीर्षक संशोधन गरेको छ । मङ्गलबार सम्पन्न १३औँ गाउँसभा तथा अधिवेशनबाट पूर्वनिर्धारित बजेटलाई शीर्षक संशोधन गरेर रकमान्तर गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को लागि छुट्याएको कुल बजेटमध्ये सबैभन्दा ठूलो बजेट रहेको सडक निर्माण तथा मर्मत सम्भार गर्नको लागि व्याक लोडर खरिद गर्ने बजेटलाई शीर्षक संशोधन गरेर चार वटा शीर्षकमा अन्य काम गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए । उनका अनुसार उक्त शीर्षकमा रहेको ५१ लाख रूपैयाँ बजेटलाई गाउँपालिकाको प्रशासकीय भवनमा लिफ्ट जडान गर्न २५ लाख रूपैयाँ, नवप्रवर्तन आर्थिक विकास परियोजना समपूरक शीर्षकमा ११ लाख २५ हजार रूपैयाँसहित घिनाटारदेखि टाउन चोकसम्मको बाटो निर्माण र गाउँपालिकामा आवश्यक दुई पाङ्ग्रे सवारीसाधन खरिदका लागि खर्च गरिने छ ।

त्यस्तै सुन्तला जातका फलफूल वितरण गर्न नर्सरी स्थापनाको लागि विनियोजित ३० लाख रूपैयाँबाट शीर्षक संशोधन गरी नर्सरी स्थापनाको लागि पूर्वाधार निर्माण (ग्रीन हाउस, साना सिंचाइ निर्माण र आवश्यक औजार खरिद)को लागि १९ लाख ५० हजार रूपैयाँ बजेट छुट्याइएको छ । सोही शीर्षकभित्र सुन्तला जातका फलफूल नर्सरीअन्तर्गत विरुवा उत्पादन कार्यक्रमको लागि आठ लाख रुपैयाँ, करार सेवामा नर्सरी हेरालु (दुई जना)का लागि दुई लाख ४० हजार र उद्यम विकास सहजकर्ता÷सहयोगी तलबमा तीन लाख रूपैयाँ खर्च छुट्याइएको गाउँपालिकाले जनाएको छ ।
यस्तै रोजगार सेवा केन्द्रद्वारा सञ्चालन गरिने आयोजनाहरुका लागि २१ लाख रुपैयाँ बजेट अनुमोदन गरिएको गाउँपालिकाका अध्यक्ष मगरले जानकारी दिए । मङ्गलबारको गाउँसभाबाट वडागत बजेटमा पनि हेरफेर गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले जानकारी दिए । उनका अनुसार वडा नं.२ र १ बाहेक बाँकी तीन वडा वडामा बजेट हेरफेर गरिएको छ ।
वडा नं.२ मा कुनै पनि बजेटको शीर्षक संशोधन नभएको र वडा नं.१ मा नयाँ बजेट र आयोजना माग भइआएको उनले बताए । गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरूङले पेश गरेको वार्षिक बजेट तथा कार्यक्रम संशोधन प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो । देवघाट गाउँपालिकाले चालू आर्थिक वर्षको लागि ५२ करोड ९८ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो ।



