चितवन,माघ १६
पवित्र तीर्थस्थल देवघाटधाममा चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुल जोखिम अवस्थामा रहेको छ । मानिस ओहोरदोहोर गर्नका लागि बनाइएको यो पुलमा मोटरसाइकल कुदाउन थालेपछि जोखिममा परेको हो । हरेक वर्ष पुलको मर्मत सम्हार गर्ने गरिन्छ । सामान्यतया मानिस मात्रै हिँडेको अवस्थामा यो पुलको आयु ५० वर्ष हुने गर्दछ । सस्पेन्सन ब्रिज डिभिजनका सब इञ्जिनीयर गोपालबहादुर थापा पुलमा चाप बढी भएकाले ४४ वर्षअघि बनेको यो पुल जोखिममा रहेको बताउनुहुन्छ । विगत आठ वर्षदेखि यो पुलको मर्मत सम्हारको नेतृत्व गर्नुभएका थापाको भनाइमा तत्काल नयाँ पुल बनाउनुको विकल्प छैन ।
नेपालमा सबैभन्दा बढी मानिस आवतजावत गर्ने झोलुङ्गे पुलमा यो पर्ने भन्दै उहाँले तत्काल नयाँ बनाउनु पर्नेमा जोड दिनुभयो । पुल जोखिममै भएका कारण हरेक वर्ष मर्मत गर्दै आएको उहाँले जानकारी दिनुभयो । गएको शुक्रबारबाट बिहान ११ बजेदेखि ३ बजेसम्म आवागमन रोकेर पुल मर्मतको काम भइरहेको छ । यो महिनाभित्रमा पुलको नट परिवर्तन, कस्ने काम, भुईको पाता परिवर्तन, जाली परिवर्तन जस्ता मर्मतका काम सम्पन्न गर्ने उहाँले जानकारी दिनुभयो ।
पवित्र तीर्थस्थल देवघाट प्रवेश गर्ने मुख्य मार्गमा यो पुल पर्दछ । विकल्पमा दासढुंगा पक्की पुल बनेको छ । ठिमुरामा नयाँ पुल सञ्चालनमा आउने तयारीमा छ । यद्यपी यो पुल नै सबैका लागि पायक पर्दछ । देवघाट धार्मिक हिसाबले महत्वपूर्ण पर्यटकीय स्थल हो ।



