देवघाट माघ २६
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर–५ मा वि.स. २०७१ साल फाल्गुन १७ गते शिलान्यास गरि हाल श्रीकृष्ण प्रणामी मन्दिरको निर्माण कार्य भइरहेको छ । देवघाटलाई धार्मिक पर्यटकीय रूपमा विकास गर्न पाँच करोडको लागतमा मन्दिरको निर्माण कार्य भइरहेको मन्दिर समितिले जनाएको छ ।

मन्दिरमा आगमि फाल्गुन १७ गतेदेखि २३ गतेसम्म परायण तथा महायज्ञ हुने भएको छ त्यसको लागि राजेन्द्र रिजालको अध्यक्षतामा एक हजार आठ सदस्यीय मूल समिति र २७ वटा विभिन्न उपसमिति गठन भएको छ । श्रीमत् तारतम सागरको १०८ पारायण तथा श्रीमद्भागवत महापुराण लगाएर गरिने सो मन्दिरको उद्दघाटन भारत, गुजरात रामनगरधामका श्रीकृष्ण प्रणामी धर्मका आध्यपीठ अनन्त विभूषित जगतगुुरू १०८ कृष्णमणि महाराजबाट हुने महायज्ञ मुल समिति संयोजक एवं अध्यक्ष राजेन्द्र रिजाल बताए ।

हाल सम्ममा मन्दिर निर्माणको काम ९० प्रतिशत पूरा भएको र अब बाँकी १० प्रतिशत मन्दिर परिसरमा मोज्याक टायलहरु लगाउने काम, कहिकतै रङ्गरोगन लगाउन र गेट निर्माण भैरहेको रिजालले जनाएको छ । समितिका अनुसार १८ रोपनी जग्गामा फैलिएको यस मन्दिर कलात्मक र सुन्दर छ । देशभरमै देवघाटमा रहेको प्रणामीको यस मन्दिरलाई चौथो ठूलो मन्दिरको रुपमा लिइएको छ । फागुन १६ गते कलशयात्राको कार्यक्रम रहेको छ भने कलशयात्रा सहित भक्तजनले संगमको परिक्रमा गर्नेछन् ।

अध्यक्ष रिजालका अनुसार महायज्ञको उद्घाटनको दिन देशविदेशबाट दिन लाखौं भक्तजन आउने आकलन गरिएको छ भने महायज्ञमा लगभग १० हजारको दरले भक्तजन आउने अपेक्षा गरिएको छ । महायज्ञमा नेपालको पूर्व र पश्चिम,भुटान त्यस्तै गरि भारत लगाएत विभिन्न ठाउँबाट भक्तजनहरू आउने छन् । मन्दिरको निर्माणमा नेपाली तथा भारतीय कालिगढहरु जुटिरहेका छन् । भने महायज्ञको अवसरमा भोलि विशेष छलफल कार्यक्रम राखिएको मुल समितिले जानकारी दिए ।


karishma gurung

