देवघाट चैत ३
देवघाट गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयको पाठ्यक्रममा नैतिक शिक्षा विषय अनिवार्य समावेश गराउनुपर्छ भन्ने माग राख्दै नेपाल विद्यार्थी संघ देवघाटद्वारा देवघाट गाउँपालिकालाई ज्ञापनपत्र बुझाइएको छ ।

आज सोमबार नेपाल विद्यार्थी संघ केन्द्रको आदेश अनुसार पालिकालाई ज्ञापनपत्र बुझाएको ने.वि. संघ देवघाटका अध्यक्ष हरि कुँवरले बताए । सो ज्ञापन पत्र नेपाल विद्यार्थी संघ देवघाटका अध्यक्ष हरि कुँवरको नेतृत्वमा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा र उपाध्यक्ष भुवन सिं गुरूङलाई बुझाइएको थियो। नेपाल विद्यार्थी संघ देवघाटले शिक्षाको विषयमा राम्रो माग राखेको बताउदैँ सो ज्ञापनपत्रको मागलाई पालिकाको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग रहने देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए ।

स-साना विद्यार्थीहरुलाई उनीहरूले बाल्यकालमा ज्ञान हासिल गर्ने क्रममा विद्यालय शिक्षादेखि नै अनुशासित एवम् नैतिकवान बनाउन नैतिक शिक्षा अति महत्वपूर्ण छ । आज तनहुँ जिल्लाभर रहेका १० ओटै पालिकामा विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधारका साथै आनीबानी, रहन सहन र अनुशासन सुधारका निम्ति नेपाल विद्यार्थी संघ तनहुँले आगामी शैक्षिक सत्रबाट लागु हुने स्थानीय तहको पाठ्यक्रममा अनिवार्य रूपमा नैतिक शिक्षा विषय समावेश गर्न पहल गर्नुपर्ने आवश्यकता महशुस गर्दै गाउँपालिका विद्यालयहरुको पाठ्यक्रममा नैतिक शिक्षा विषय समावेश गराउने व्यवस्था गरिदिनुहुन पालिकालाई अनुरोध गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
नेपाल विद्यार्थी संघ विद्यार्थी हकहित र शैक्षिक गुणस्तर सुधारको क्षेत्रमा तल्लीन एक अग्रणी संस्था हो । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताको मुल नारालाई आत्मसाथ गर्दै आजको दिनसम्म शैक्षिक प्रणाली सुधारमा खबरदारी गर्दै आइरहेको छ । यसै सन्दर्भमा नेपाल विद्यार्थी संघ तनहुँले जिल्ला भित्र विभिन्न रचनात्मक कार्यक्रम गर्दै आइरहेको छ ।
तनहुँ जिल्लाका स्थानीय तहभित्र शैक्षिक क्षेत्र र विद्यार्थीका आचरणमा विभिन्न गुनासो आइरहँदा शिक्षा क्षेत्रमा विशेष प्रकारको सुधार र थालनीको आवश्यकता रहेको कुरा पत्रमा उल्लेख गरिएको छ । नेपालमा पछिल्लो समय हत्या हिंसा,बलात्कार,चोरी लगायत अपराधिक घटना र अराजक गतिविधिहरू बढ्दै गएका छन् र मानिसहरूमा नैतिकता हराउँदै गएको छ। जसले गर्दा हाम्रा मूल्य मान्यता,आदर सत्कार देखि हरेक कुराहरूको विद्यार्थीहरूमा कमी आएको कुरा पत्रमा उल्लेख छ ।



