देवघाट, जेठ २५
तनहुँको देवघाट गाउँपालिका राष्ट्रिय परिचयपत्रको आवेदन फारम र फोटो खिचाउने कार्य शुक्रबारबाट सुरू भएको छ । पहिलो दिनमा ३३ जनाले आवेदन भरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग देवघाटका प्रमुख सम्झना खत्रीले जानकारी दिए ।

आजबाट सुरू भएको सो कार्य जिल्ला प्रशासन कार्यालय तनहुँले र पालिकाको सहजिकरणमा यही जेठ २५ गतेदेखी ३१ गतेसम्मको लागि देवघाट गाउँपालिबाट नै राष्ट्रिय परिचयपत्रको आवेदन फारम भर्न सकिने व्यवस्था मिलाएको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए । उनलेे अन्य पालिकामा भन्दा देवघाटमा जेष्ठ नागरिकको संख्या धेरे भएको र बृद्धआश्रम समेत भएको हुँदा देवघाटमा पहिलो चरणमा प्रशासन कार्यालयले दर्ता टोली पठाई कामको सुरू गरिएको जानकारी दिए ।

अध्यक्ष थापाले पालिकाले जेष्ठ नागरिक र अपांगहरूता भएका व्यक्तिलाई मुख्य प्राथमिकता दिएर कार्यक्रमको आयोजना गरिएको बताउदैँ आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता पाउने सबैले राष्ट्रिय परिचयपत्रको फारम अनिवार्य रुपमा भर्नुपर्ने सरकारले निर्णय गरेपछि देवघाटबाट बृद्धाबुवाआमा र अपाङ्गता भएका व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय तनहुँ सम्म पुग्न र परिवारबाट लान लान समेत असहज हुने महसुस गरी यहीँ पालिकाभित्रै फारम भर्ने शिविर कार्यक्रम ल्याइएको बताए । उक्त शिविर कार्य ल्याउनु पूर्व देवघाट गाउँपालिकाले सुचना प्रकाशन गरि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीहरुको आगामी आ.व. २०८१÷०८२ श्रावण देखि नवीकरण तथा नयाँ निवेदन दर्ता गर्दा राष्ट्रिय परिचय–पत्र अनिवार्य गरिने भएकाले देवघाट गाउँपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले फोटो खिचाउन र आवेदन दिन छुट हुनु भएका लाभग्राहीहरुका लागि राष्ट्रिय परिचयपत्र आवेदन फारम भर्न आउन अनुरोध गरेको थियोे ।

उक्त विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बृद्वबुवाआमाहरूलाई मध्येनजर गरी पालिकाले सेवा दिएको बताए । साथै प्रमुख आचार्यले अन्य वडामै शिविर लगेर सेवा दिन प्रशासन कार्यालयले अनुमति नदिएपछि सबै वडालाई एकैठाउँमा सेवा दिइएको बताए । वडा नम्बर- ५ का नागरिकको लागि जेठ २५ देखी २७ गतेसम्म, वडा नम्बर ४ को लागि २८ गते, वडा नम्बर ३ को लागि जेठ २९ गते, वडा नम्बर २ को लागि जेठ ३० गते र वडा नम्बर १ को लागि जेठ ३१ गतेको समय निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले जानकारी दिए । त्यसै क्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरले देवघाटलाई पहिलो प्राथमिकता दिएर यस सेवालाई अगाडि बढाइदिनुभएकोमा जिल्ला अधिकारीलाई धन्यवाद व्यक्त गरेका थिए ।

सोही अवसरमा अध्यक्ष कुँवरले फारम भर्न आउन अपाङ्ग भएर कोहि आउन सक्नुभएको छैन भने त्यसको लागि पालिकाले सेवा लिने स्थानसम्म पुग्ने व्यवस्था गरिदिने बताएका थिए । राष्ट्रिय परिचयपत्रको लागि दमौली जानुपर्ने बाध्यतालाई यहीँ देवघाटबाटै सेवा लिन सकिने व्यवस्था मिलाइएकोमा वृद्धाबुवा वीर बहादुर भुजेलले पालिकालाई धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै गरि फारम भर्न आएकी धनमायाँ तिवारीले भने सिटहल सम्म आउन त गाह्राे भयो अझ दमौली जानुपरे त सारै गाह्राे हुने रहेछ भन्दै पालिकाले धेरै नै राम्रो कार्यक्रम ल्याइएको भन्दै खुशीका साथ धन्यवाद दिए ।

आवेदन फारम भर्नको लागि जेष्ठ नागरिकको हकमा श्रीमान÷श्रीमतीको नागरिकता, विवाह दर्ता वा बसाईसरी आएमा बसाईसराई दर्ता प्रमाण–पत्रको सक्कल, तथा एकल महिला र विधवाको हकमा श्रीमान÷श्रीमतीको नागरिकता, मृत्यु दर्ता र विवाह दर्ता प्रमाण–पत्रको सक्कल चाहिने छ । साथै पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको हकमा श्रीमान÷श्रीमतीको नागरिकता, मृत्यु दर्ता, विवाह दर्ता, जन्म दर्ता प्रमाण–पत्रको सक्कल, अति अशक्त अपाङ्गताको हकमा श्रीमान÷श्रीमतीको नागरिकता, बाबु आमाको नागरिकता, विवाह दर्ता र जन्मदर्ता प्रमाण पत्रको सक्कल र बालबालिकाको हकमा आमा बाबुको नागरिकता र जन्मदर्ता प्रमाण–पत्रको सक्कल अनिवार्य चाहिने गाउँपालिकाले जनाएको छ ।

आजबाट सुरू भएको सो शिविर सेवा देवघाट-५ क्युदी सिटिहलमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म भैरहेको छ । उक्त राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग देवघाटका प्रमुख सम्झना खत्री,वडाका कर्मचारी र सामी कर्मचारीलाई खटाइएको छ ।



