देवघाट
वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले पटकपटक चुनाव जितेको निर्वाचन क्षेत्र तनहुँको घण्टाचुलीमा पहिलोपटक बिजुली बलेको छ । जनप्रतिनिधि जिम्मेवार नबन्दा देवघाट गाउँपालिकाको कतिपय गाउँमा अझै पनि बिजुली बत्ती पुगेको छैन । तर, देवघाट गाउँपालिकाको वडा नं.१ र २ मा पर्ने घण्टाचुली क्षेत्रमा बिजुली बत्ती बलेपछि स्थानीय खुसी छन् ।
ऐतिहासिक एवम् पर्यटकीय गन्तव्य भए पनि भौगोलिक विकटताका कारण यस क्षेत्र विद्युत सेवाबाट बञ्चित थियो । गत जेठ १२ गते पहिलोपटक गाउँमा बिजुली बत्ती बलेको घण्टाचुलीका स्थानीय भेषबहादुर गुरूङले जानकारी दिए । उनका अनुसार पोल गाडेको करिब ६ महिनापछि बल्ल गाउँमा बिजुली बत्ती बलेको हो । ‘स्थानीयकै पहलमा बल्ल गाउँमा बत्ती बल्यो,’ उनले भने, ‘पोल बोक्ने, गाड्ने, तार तान्नेल गायतका अधिकांश काम जनश्रमबाटै भएको छ । ठेकेदार कम्पनीलाई पर्खेको भए यो वर्ष पनि बत्ती बल्ने सम्भावना थिएन ।’
स्थानीयका अनुसार अझै पनि घण्टाचुली क्षेत्रका सबै घरमा यही वर्ष बिजुली बल्दैन । समयमै मिटर बक्स उपलब्ध नहुँदा कतिपय घरमा वर्खाअघि बत्ती बल्ने सम्भावना छैन । गाउँलेलाई मिटर बक्स लिन कि त सदरमुकाम दमौली बजार, कि त आँबुखैरेनी बजार पुग्नुपर्ने बाध्यता छ । मिटर बक्स अभावका कारण यसपटक जम्मा ६०÷७० घरधुरीमा बत्ती बल्ने सम्भावना रहेको उनले बताए । ‘यसपटकको वर्खाअघि ६०÷७० घरमा बत्तीको सुविधा पुग्ने सम्भावना छ,’ स्थानीय कमल गुरूङ भन्छन्, ‘अझै करिब डेढसय घरधुरी जति बाँकी रहन्छ ।’
घण्टाचुली क्षेत्रमा खानेपानीको अभाव छ । गाउँमा बत्ती बलेपछि लिफ्टिङमार्फत खानेपानी व्यवस्थापनमा समेत टेवा पुग्ने उनको बुझाइ छ । ऐतिहासिक डाँडो घण्टाचुलीसम्म बिजुलीको लाइन तानेको छ । त्यसले घण्टाचुली क्षेत्रमा कार्यक्रम आयोजना गर्न तथा त्यहाँ निर्माणाधीन भौतिक संरचनाको लागिसमेत सहयोग पुग्ने उनले बताए । घण्टाचुली तनहुँ जिल्लाको ऐतिहासिक एवम् पर्यटकीय गन्तव्य हो ।
यस क्षेत्रमा सडक सञ्जाल पुगे पनि खानेपानी र बिजुली बत्ती नपुग्दा विकास निर्माणको काम अवरूद्धvजस्तै थियो । गाउँमा बिजुली बलेसँगै स्थानीयले विकास निर्माणमा थप सहज हुने अपेक्षा गरेका छन् । हिउँदको समयमा मात्रै सवारीसाधन चल्ने यस क्षेत्रका जनताले सवारीसाधन पनि बाह्रैमास चल्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेका छन् ।



