तनहुँ-
देवघाट गाउँपालिकाले आइतबारदेखि आफ्नै भवनबाट सेवा दिन थालेको छ । स्थानीय सरकार गठन भएको करिब सात वर्षपछि बल्ल देवघाट गाउँपालिकाले सरकारी भवनबाट सेवा दिन सुरू गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नै भवनबाट सेवा सुरू गरेको जानकारी दिएका हुन् । वडा नं.५ क्युदीमा निर्मित नयाँ प्रशासनिक भवनबाट सेवा दिएपछि गाउँपालिकाले भाडावापत बुझाउँदै आएको वार्षिक १८ लाख रूपैयाँ रकम जोगिएको छ ।
गाउँपालिकाले पाँच करोड रूपैयाँ लागतमा ४२ कोठाको तीन तले प्रशासनिक भवन निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरका अनुसार केन्द्र र प्रदेश सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागतमा उक्त भवन निर्माण भएको हो ।



