देवघाट साउन २८
आज साउनको अन्तिम सोमबार देवघाटधाम सहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ । बोलबम मेला बृहत् रूपमा लाग्ने एक पवित्र तिर्थ स्थल देवघाटधाम पनि हो ।

हरेक वर्ष जस्तै यस वर्ष पनि देवघाटधाममा बिहानैदेखि कालिगण्डकी र त्रिशूली नदिको संगम स्थल वेणी र देवघाटको विभिन्न मठमन्दिरहरूमा भक्तजनहरूले दर्शन गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताउनुभयो । अन्य सोमबारको तुलनामा आज अन्तिम सोमबार दर्शनार्थीहरूको घुइँचो बढेपछि अझ कडाइका साथ सुरक्षाकर्मी खटाइएको बरालले बिहानी मिडियालाई जानकारी दिनुभयो ।

साथै उनले बोलबम मेला भर्न देवघाट आएका भक्तजनहरूको उपस्थितिले अझै मेला व्यवस्थापनमा नयाँ प्रक्रिया अपनाउनुपर्ने पाठ सिकेको बताउनुभयो । ०८१ सालको बोलबम मेलालाई सवार दुर्घटना र बाढि पहिरोको कारणले असर पुर्याएको देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरले बताउनुभयो । उनले बोलबम मेला सुरू हुनुभन्दा अगाडि सिमलतालमा भएको दु:खद् घटनाले बोलबम मेलालाई असर पारेता पनि अन्तिम सोमबार भने गत वर्षहरूमा जस्तै तिर्थालु भक्तजनहरू बोलबम मेला हेर्न देवघाट भित्रीएको बताउनुभयो । अनुमानित ९० हजार भन्दा बढी भक्तजनले देवघाटधामको अन्तिम दिन दर्शन गरेको अध्यक्ष कुँवरले बताउनुभयो ।

त्यस्तै गरि वर्षादको समय र नदिको बाहव बढ्दै गएकोले स्नान गर्दा सतर्कता अपनाउनको लागि देवघाट गाउँपालिका र क्षेत्र विकास समितिले स्थान स्थल नजिकै जिङ्गल सहित सूचना दिइरहेका थिए । भने स्नान गर्ने क्रममा नदिमा केही आपतकालीन दुर्घटना हुन सक्छ भनेर काठको डुङ्गा राखिएको थियोे । देवघाटको बोलबम मेलामा आउने तिर्थालु भक्तजनहरू पुग्ने ठाउँहरू ऐतिहासिक पुरातात्त्विक बोकेको मन्दिर मणिमुकुण्देश्वर चक्रबर्ति मन्दिर,पशुपति मन्दिर,सीता गुफा,शिद्देश्वर मन्दिर,हरिहर मन्दिर,महेश सन्यास आश्रम लगाएत ठाउँमा पुग्ने गर्छन् ।

बोलबम मेलामा स्नान गर्न आएका तिर्थयात्री राधिका देवी अधिकारीले आफु हरेक वर्ष बोलबम मेला मनाउँदै आएता पनि देवघाट आएर भने पहिलोपटक मनाइएको बताइन् । उनले देवघाटधाम आएर बोलबम मेला मनाउन आउदा असाध्यै रमाइलो र खुसी लागेको बताउदैँ हरेक सोमबार आफ्नो पितृको लागि र आफ्नो श्रीमानको लामो आयुको लागि व्रत समेत बसेको बताइन् ।

श्रावण महिनालाई भगवान शिवको प्रिय महिना भनिन्छ । आजको दिन हिन्दु नारीहरू आफ्नो परिवारको खुसी र श्रीमानको लामो आयुको लागि व्रत समेत बस्ने चलन छ । श्रावणको महिनाभर देवघाट लगाएत देशैभरको शिवालय मन्दिरमा आफ्नो परिवारको खुसी, आत्मासन्तुष्टी र आफ्नो श्रीमानको दिर्घायुको लागि स्नान गर्न आउने गर्दछ । शिव भक्तहरूलाई यो पावन महिनाको अधीरता र आतुरतापूर्वक प्रतीक्षा रहन्छ ।

वास्तवमा यो साउन महिना पवित्र ब्रतहरूको महिना हो ।




