देवघाट साउन ३२
"जनताको चाहना आजको आवश्यकता" भन्ने मुल नारा सहित देवघाट गाउँपालिका अन्तर्गत सम्भावित स्थानमा नयाँ कलेज स्थापनाका लागि आज कालिका माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठ र शिक्षक सरद चन्द्र खनालको नेतृत्वमा सम्भाव्यता अध्ययन गर्नको लागि जिम्मेवारी दिइएको छ ।

आजको भेला तथा छलफलमा निष्कर्ष नआएपछि अर्को भेला पश्चात् समिति गठन गरिने देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए । अध्यक्ष थापाले देवघाटमा अहिलेसम्म एउटा पनि क्याम्पस नभएको हुदाँ यस छलफल कार्यक्रमलाई गम्भीरताका साथ लिएको बताए । साथै अध्यक्ष थापाले क्याम्पस स्थापना गर्ने वा नगर्ने विषयमा भने छिट्टै निष्कर्ष ल्याउने समेत जानकारी दिए ।

उक्त छलफल समारोहमा कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रदेव तिवारीले देवघाटमा क्याम्पस अति आवश्यक रहेको बताए । क्याम्पसको अभावले देवघाट गाउँपालिका भित्रका विद्यार्थीहरू जिल्ला छोडेर पढ्न जान बाध्य भएको बताउदैँ जस्तोसुकै चुनौती आएता पनि क्याम्पस स्थापना गर्नु जरुरी रहेको बताए । त्यस्तै गरि कालिका माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठले हामीले त पढ्न पाएनौं पाएनौं हाम्रो पुर्खाहरूले देवघाटमै क्याम्पस पढ्न पाउने वातावरण सिर्जना गर्नुपर्छ भन्दै चुनौतीहरू सामना गर्दै क्याम्पस स्थापना गर्न अगाडि बढ्ने प्रतिवद्वता गरेका थिए ।

देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले क्याम्पस स्थापना गर्नु पुर्व देवघाटवासवासीहरूको विचार के छ,क्याम्पस चाहिएको छ कि छैन त्यस विषयलाई मनन गर्दै अगाडि बढ्नुपर्ने बताए ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवर,वडा सदस्य बुद्धि बहादुर पाण्डे,नेपाली काङ्ग्रेस देवघाटका प्रतिनिधि,नेकपा एमाले देवघाटका प्रतिनिधि,राप्रपा देवघाटका प्रतिनिधि,रास्वपा देवघाटका प्रतिनिधि,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू,विद्यालयका प्रधानाध्यापक, शिक्षक,बुद्धिजीवी व्यक्त लगाएतले आ-आफ्नो भनाइ राखेका थिए ।



