देवघाट
नेपाली समाजमा दसैँ सकियो । दसैँको बेला धेरैको घरमा खुसी भित्रिन्छ । अधिकांशको घरमा दसैँका लागि खर्च भए पनि कतिपयको घरमा आम्दानी भित्रिने गर्दछ । देवघाट गाउँपालिका वडा नं–५, क्वादीका किसानको घरमा दसैँको खुसीसँगै अर्थ पनि भित्रिएको छ ।

वर्षभरि पालेको खसीबोकाले क्वादीवासीलाई थप खुसी दिलाएको हो । पूर्णतया कृषिमै निर्भर हुँदै आएको क्वादी गाउँमा खेतीपातीसँगै पशुपालन नै मुख्य पेसाको रुपमा अपनाउने गरिएको छ । परम्परागत खेतीपातीबाट थोरै माथि उठेर यहाँका स्थानीयले व्यावसायिक खेतीपाती र पशुपालनलाई अगाडि बढाएका छन् ।
जम्मा दस घरधुरीमात्रै रहेको क्वादीका प्रायः सबैले पछिल्लो समय खसीबोकालाई आम्दानीको मुख्य स्रोत बनाउँदै आएका छन् । स्थानीय पत्रकार करिश्मा गुरूङका अनुसार क्वादीका सबैले गाउँमै कृषि फर्म दर्ता गरी व्यावसायिक कृषि र पशुपालन गर्दै आएका छन् । ‘पछिल्लो कही वर्षयता दसैँको समयमा खसीबोका बिक्रीबाटै क्यादीमा राम्रो आम्दानी भित्रिने गरेको छ’, उनले भनिन्, ‘खसीबोकाको बिक्रीबाटै एउटै व्यक्तिले साढे तीन लाख रूपैयाँसम्म आम्दानी गरेका छन् ।’

उनका अनुसार नारायणगढ बजारबाट नजिकै पर्ने पहाडी क्षेत्र भएकोले यहाँको खसीबोकाको माग बजार क्षेत्रमै बढी छ । ‘वनजङ्गलकै वनस्पति खाएर हुर्किएको खसीबोका भएकोले बजारबाट माग राम्रो छ । तर, यहाँका स्थानीयले मागअनुसारको उत्पादन गर्न सकेका छैनन्’, उनले थपिन् । यसवर्षका लागि स्थानीयले दसैँका निम्ति तयार गरेका खसीबोका फूलपातीको दिनसम्ममा बेचिसकेका थिए ।
गाउँमा खसीबोका नै सकिएपछि फूलपातीपछि खसीबोका बेचिरहनु नपरेको स्थानीय नवराज गुरूङ बताउँछन् । नवराजले गएको दसैँमा मात्रै ११ वटा खसी बेचे । ‘विगतको तुलनामा यसवर्ष अलि कम हो’, उनी भन्छन्, ‘तैपनि ११ वटा खसी बेच्न सफल भएँ ।’
उनले यसअघिका वर्षहरुमा दसैँमा मात्रै १५ देखि २० वटासम्म खसीबोका बेच्थे । गाउँमा सबैभन्दा धेरै खसीबोका उत्पादन र बिक्री गर्ने उनै थिए । ‘तर सधैँ एकनास हुँदैन’, उनी थप्छन्, ‘यसपालि अलि कम भयो ।’ उनले गएको दसैँमा ११ वटा खसीबोका बिक्री गर्दा दुई लाख ९० हजार रूपैयाँ आम्दानी लिए ।
२०७६ साल असोजदेखि ‘स्मिथ बाख्रा फर्म’को नाममा दर्ता गरेरै व्यवसाय थालेका उनले विगतमा तीन लाख ५० हजार रूपैयाँसम्म आम्दानी गरेका थिए । उनले पशुसेवा कार्यालय (पशु विज्ञ केन्द्र) तनहुँबाट दुर्य लाख रूपैयाँ अनुदानसमेत पाएका थिए ।
सिंचाइको अभावका कारण क्वादीवासी पशुपालनतर्फ मोडिएका हुन् । ‘सिंचाइको सुविधा हुने हो भने अन्नसँगै फलफूल तथा तरकारीको उत्पादन पनि राम्रो हुन्छ’, स्थानीय तीर्थलाल गुरूङ भन्छन्, ‘सिंचाइ नहुँदा हिउँदको समयमा खेतीपाती गर्न सकिएको छैन ।’
तीर्थलालले पनि यसवर्ष दसैँमा खसीबोका बेचेर एक लाख ९० हजार रूपैयाँ आम्दानी भिœयाए । नवराज र तीर्थलालका छिमेकी अविराज गुरूङले दुई लाख १० हजार, चित्रबहादुर गुरूङले दुई लाख ३० हजार, तीर्थमाया गुरूङले ५० हजार र ज्ञानबहादुर गुरूङले ५० हजार रूपैयाँ आम्दानी गरेका छन् । यसवर्ष क्वादीका छ जना किसानले मात्रै खसीबोकाको बिक्रीमार्फत १० लाख २० हजार रूपैयाँ रकम क्वादी भिœयाएका छन् । दसैँबाहेक पनि छिटपुटरुपमा खसीबोकाको बिक्री हुने गर्दछ । वर्षभरिको आम्दानी जोड्ने हो भने यो रकम अझ बढ्न सक्छ ।
उनीहरुले दसैँको समयमा नारायणगढस्थित पोखरा बसपार्क क्षेत्रमा लगेर खसीबोका बेचेका हुन् । यसपालिको दसैँका लागि पोखरा बसपार्कको नजिकै रहेको खुला चौरमा खसी बजार नै बनाइएको थियो । खसी बजार नै बनाएपछि किसानलाई आफ्नो उत्पादन बिक्री गर्न पनि सहज भएको किसानहरु बताउँछन् ।
स्थानीय सरकारले भने किसानको आकर्षणअनुसार बजेटको व्यवस्थापन गर्न नसकेको बताएको छ । विगतका वर्षहरुमा अनुदान तथा गोठ सुधारका कार्यक्रम ल्याइए पनि यसवर्ष बजेट कम भएकोले बाख्रापालनका लागि नयाँ कार्यक्रम ल्याउन नसकिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले बताए ।
‘यसवर्ष हाम्रो पालिकामा जनसङ्ख्या कम भएका कारण सरकारी बजेट कम प¥यो । त्यसकारण गाउँपालिकाको बजेट पनि घट्यो’, उनले भने, ‘बजेट नै कम भएपछि सबै कार्यक्रमलाई समेट्न सम्भव भएन, आगामी वर्षहरुमा समेट्छौँ ।’
#नारायणगढको पोखरा बसपार्कनजिकै बनाइएको खसी बजार ।



