देवघाट
आज हरिबोधनी एकादशी पर्व । पवित्र तिर्थस्थल देवघाटधामको वेणी संगममा फुलैफुलको तोरण तारी एकादशी पर्व मनाइएको छ ।

देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित रहेको ऐतिहासिक मन्दिर मणीमुकेन्देश्वर चक्रवर्ती आश्रममा सामुहिक रुपमा बाटिएको तोरण स्थानीय नौमति पंचेबाजा,भजन र नाचगान सहित देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरुङ,देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवर, वडा-५ सदस्य बुद्धिबहादुर पाण्डे,याम बहादुर मगर लगायत विभिन्न संघसंस्था र स्थानीयहरुको बाक्लो उपस्थितिमा चक्रवर्ती मन्दिर परिक्रमा गर्दै महेश सन्यास आश्रम,हरिहर आश्रम,गलेश्वर आश्रम हुँदै त्रिशुली नदि र कालिगण्डकी नदिको सँगमस्थल बेणी सँगममा लगी कालीगण्डकी नदि पार गरी तोरण टाँगिएको हो ।

हरेक बर्ष जस्तै यस बर्ष पनि पवित्र देवघाटमा हरिबोधनी एकादशी एबम् तुलसी विवहाको दिन कालिगण्डकी र त्रिशूली नदिको संगम वेणी संगमस्थल बाट १५ फुलको तोरन कालीगण्डकी पार गरी टाँगिएको छ । हरेक वर्ष चक्रबर्ती मन्दिरबाट स्थानीय नौमति बाजा सहित तोरण तार्ने कार्य सुरू गर्दछ । तनहुँ,चितवन,नवलपरासी र कास्की जिल्ला गरी विभिन्न क्षेत्रबाट भक्तजनहरुले भजन गाउदै, पैदल यात्रा गर्दे देवघाट सम्म डोलिमा फुलको तोरण लिएर आएका थिए ।देवघाटधामको वेणी संगममा भने गत वर्ष भन्दा यस वर्ष धेरै मेलामा स्नान,पुजा आर्चना गर्ने भक्तजनको घुइँचो पनि देखिन्थ्यो ।

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाईएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । त्यस्तै गरि तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । गरूड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ ।

यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।आजका दिन पवित्र देवघाटधाम सँगै काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लागेको थियोे ।



