देवघाट
देवघाट गाउँपालिकाले १६ दिने लैङ्गिक हिंसाविरूद्धको अभियानअन्तर्गत पालिकाभित्रका पाँचवटै वडामा जनचेतनामुलक कार्यक्रम गरेर सचेना फैलाउने बताएको छ ।

अभियानको सोमबार सुरूवात गर्दै पालिकाका अध्यक्ष तिलबहादुर थापामगरले पालिकावासीलाई हिंसाका विषयमा जानकारी गराउँदै सचेतना फैलाउने बताएको हो । उनका अनुसार गाउँपालिकाको नीति तथा कार्यक्रममै लैङ्गिक हिंसा अन्य गर्ने योजना समावेश गरेर कार्यक्रम गरेको हो ।

समाजलाई चेतनशील नबनाएसम्म हिंसाको अन्त्य हुन नसक्ने भन्दै अध्यक्ष मगरले भने, ‘समुदायमा हुने विभेदको अन्त्य गर्नको लागि स्थानीय सरकारले गर्नुपर्ने सबै जिम्मेवारी निर्वाह हुनेछ । त्यसमा समुदायस्तरबाट पनि हामीले सहयोगको अपेक्षा गरेका छौं ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीनेश सारूमगरले कतिपय अवस्थामा सामाजिक मूल्य, मान्यतालाई गलत तरिकाले प्रयोग गरिँदा त्यसले समाजमा नकारात्मक परिवेश सिर्जना गर्ने हुँदा गलत संस्कृतिलाई हटाउँदै जानुपर्ने बताए ।

‘सामाजिक संस्कार र संस्कृतिले गर्दा पनि हिंसा न्युनीकरण चुनौतीपूर्ण बन्दै गएको छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा सरोकारवाला निकाय तथा व्यक्तिले बढी जिम्मेवार बन्नुपर्छ ।’ देशको मूल कानुन संविधानमै लैङ्गिक हिंसा दण्डनीय कार्य हो भनेर उल्लेख गरिसक्दासमेत त्यसलाई पूर्ण कार्यान्वयन गराउन नसक्दा समाजमा विकृति कायमै रहेको उनको भनाइ छ । पछिल्लो समय चलाउँदै आएको १६ दिने लैङ्गिक हिंसाविरूद्धको अभियानले पनि हिंसा अन्त्यको लागि केही न केही भूमिका खेलेको उनले बताए ।

विश्वमा महिला हिंसाको अन्त्य गर्नको लागि सन् १९९१ मा विभिन्न २३ देशका महिला अधिकारकर्मीहरुको समूहले अभियान सञ्चालन सुरु गरेका थिए । त्यसपश्चात हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म यो दिवस बनाउन थालिएको हो । नेपालमा पनि वि.सं. २०५४ सालदेखि यो अभियान सञ्चालनमा आएको हो ।



