देवघाट, पुस २५
देवघाटधाम जेसीजले देवघाट गाउँपालिका वडा नम्बर-२ खाल्टेका युवा कृषक मनिष मल्ललाई सम्मान गरेको छ ।
मंगलबार नमस्ते देवघाट गार्डेन रिसोर्टमा आयोजित तेश्रो पद हस्तान्तरण कार्यक्रम तथा सम्मान समारोहमा सम्मान गरिएको हो । देवघाटधाममा स्थानीय युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले स्थापित देवघाटधाम जेसीज वर्ष-२०२४ को उद्यमशिलता र पर्यटनमा युवा नेतृत्व प्रकरण सँग सम्बन्धित कार्य गर्ने, वैदेशिक रोजगारीलाई बिट मार्दै आफ्नो देशमा नै कर्म गर्नुपर्छ भन्ने महान लक्ष्य बोकि हाल आफ्नै गाउँघरमा रहि कृषि पेशामा संलग्न भई उदाहरणीय युवा युवा बनि गरे के हुदैन भन्ने ज्वलन्त उदाहरणको रूपमा रहेकोले मल्ललाई स्व. चक्रपाणि पौडेल स्मृतिबाट उत्कृष्ट युवा सम्मान गरिएको देवघाटधाम जेसीज वर्ष-२०२४ का अध्यक्ष जेसी रघु मल्लले बताए ।
कृषक मल्ललाई नगद ५ हजार सहित प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको अध्यक्ष मल्लले जानकारी दिए । मल्ल कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तथा देवघाटधाम जेसीजका मानार्थ सदस्य तिल बहादुर थापाको रोहबरबाट सम्मानित भएका हुन् । यस स्मृति सम्मान कार्यक्रम अब हरेक वर्ष देवघाटधाम जेसीजको पद हस्तान्तरण कार्यक्रमको अवसरमा आयोजना हुने देवघाटधाम जेसीज वर्ष-२०२५ का अध्यक्ष जेसी प्रशन्न ढकालले बताए ।
सम्मानित युवा कृषक मल्लले आफुले २० रोपनी क्षेत्रफलको जमिनमा ५ बर्ष यता कागती खेती गर्दै आएको बताए । उनले कागती खेतीबाट बार्षिक ३ लाख आम्दानी गर्दै आएको बताए । देशमा बसेर केही गर्ने सोच लिएर कागती खेती गरेपनि बजार व्यवस्थापनको चुनौती, प्राकृतिक प्रकोप लगायतका कारणले आफुलाई ठुलो नोक्सानी पुगेको मल्लले बताए ।
नेपालमा रोजगारको सिर्जना छैन, व्यवसाय गरौं भने पनि सरोकारहरुले केही सहयोग नगर्ने मल्लले बताए । आफुले कागती खेती गरिरहदा स्थानिय सरकारबाट सोचे जस्तो प्रोत्साहन नमिलेको बताए । प्रदेश सरकार बाट ५० प्रतिशत अनुदान प्राप्त भएपनि स्थानिय सरकार बाट सहयोग नमिलेको मल्लले बताए । स्थानिय सरकारले यहि केही गर्छु भन्ने युवाहरुको शिक्षा योग्यता, अबस्था र भावना हेरी उनीहरुको क्षमतालाई हेरेर सहयोग गर्नुपर्ने मल्लले बताए ।



