देवघाट, पुस २९
नेपालकै मध्यभागमा पर्ने तनहुँ, चितवन र नवलपुरको संगम स्थलमा रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्षको माघ १ गते ठुलो माघे संक्रान्ति मेला लाग्ने गर्छ ।

यस वर्षको माघे संक्रान्ति मेलाको लागि पनि देवघाटधाममा सम्पुर्ण तयारी पुरा भएको छ । आज विहान देवघाटधामका विभिन्न आश्रमहरुका पीठाधीशहरुको उस्थितिमा धार्मिक विधि अनुसार बेणी संगममा लिङ्गो गाडी माघे संक्रान्ति मेलाको शुभारम्भ भएको छ ।

देवघाट क्षेत्र विकास समितिको व्यवस्थापनमा हुने मकर संक्रान्ति मेलाको सम्पुर्ण तयारी पुरा भएको क्षेत्र विकास समितिले जनाएको छ । देवघाट क्षेत्र विकास समितिले शनिबार क्षेत्र विकास समितिको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरि मेलाको तयारीको बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले मेलाको सम्पुर्ण तयारी पुरा भईसकेको बताए ।

पवित्र त्रिशुली नदी र कालीगन्डकी नदीको देवघाटमा मिलन भएको दिन मकर संक्रान्तिको दिन नै भएको मानिन्छ । साथै ज्योतीषिय गणना अनुसार सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिनलाई मकर संक्रान्ति (माघे संक्रान्ति) भनिन्छ । सोही कारण पनि माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नेहरुको ठुलो घुईँचो लाग्ने गर्छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिमबहादुर रानाको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा देवघाट गाउँपालिकाका उपाध्यक्ष एवं मेला अनुगमन समितिका संयोजक भुवनसिं गुरुङले देवघाटमा लाग्ने माघे संक्रान्ति मेलालाई व्यवस्थित बनाउनु पर्ने बताए । माघे संक्रान्ति मेलाको सुरूवात कहिलेबाट भएको हो त्यो एकिन कसैलाई थाहा नभएको कुरा बताउदैँ गुरुङले २०५० सालबाट भने देवघाट क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन गर्न थालेको बताए ।

देवघाट अहिले ठुला ठुला धार्मिक संघ संस्थालाई मागि खाने र पैसा उठाउने ठाउँ बन्न थालेको भन्दै गुरुङले देवघाटको सम्पदा र ऐतिहाँसिकता जोगाउन सबै लाग्नुपर्ने बताए । उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले माघे संक्रान्ति मेलामा देवघाटमा देश विदेशबाट भक्तजनहरू आउने भएको हुदाँ माघे मेला देवघाटको सान रहेको बताए ।

साथै अध्यक्ष कुँवरले विगतका कमी कमजोरी सच्याउँदै यस पटकको मेलालाई व्यवस्थित बनाउने बताए । देवघाटधाम ऐतिहासिक, पौराणिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको धार्मिक तिर्थस्थल हो । गोसाँइकुण्डबाट आएको त्रिशूली र दामोदर कुण्डबाट आएको कालीगण्डकीको मिलन एवं नारायणी नदीको मुहानको रुपमा रहेको देवघाटधामको बेणी संगम भएकोले यो पर्वको विशेष महत्व रहेको छ । यसै दिन पवित्र देवनदीको संगममा स्नान गर्न सम्पूर्ण देवी–देवताहरु आउने हुनाले पनि भक्तजनहरुले अदृष्य रुपमा देवी देवताहरुलाई भेटेर मोक्ष प्राप्ती गर्न सक्दछन् भन्ने पौराणिक मान्यता रही आएको छ ।

सदा झैं यस वर्ष पनि माघे संक्रान्ति मेलामा लाखौँ भक्तजनहरुले पवित्र धार्मिक तीर्थस्थलको तीर्थाटन गरी स्नान, जप, तप, पाठ, पूजा, हवन, दान, श्राद्ध, यज्ञ आदि कर्म गरेर पुण्य प्राप्त गर्ने विश्वास गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । देवघाट क्षेत्र विकास समितिले तीर्थ यात्रीहरुको यात्रा सरल, सहज, सुविधाजनक र सुरक्षित होस भन्ने उद्देश्यले चितवन, तनहूँ र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाका प्रमुख, अलायतको समन्वयमा सयौँ सुरक्षाकर्मीहरु परिचालन गरिने बरालले बताए । तनहुँ र चितवन प्रशासनबाट करिब पाँच सय भक्तजन र क्षेत्र विकास समितिबाट १ सय ६० स्वयंसेवक परिचालन गरिने बरालले बताए ।
मेलाको अवधिमा सवारी साधनहरु चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र फर्कदा देवघाट–बागेश्वरी हुदै आँपटारी भएर फर्कने व्यवस्था मिलाईएको बरालले बताए । साथै मुग्लीनतर्फबाट देवघाट आउने सवारी साधनहरुलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र फर्कदा सोहि रुटबाट फर्कने व्यवस्था मिलाईएको छ । चिवनतर्फ सवारी साधनको पार्किङको लागि साना सवारी साधनको लागि सीताराम संस्कृत माविको कम्पाउण्ड भित्र व्यवस्था मिलाइएको छ भने ठुला सवारी साधन (बस, मिनीबस, माईक्रो) आदिको पार्किङ्ग व्यवस्था दाहसंस्कार स्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार) देखि उत्तर पूर्वक्षेत्रमा सवारी साधनहरुलाई सहज रुपमा पाकिंङ्ग गर्ने प्रबन्ध मिलाईएको छ ।
तनहूँतर्फ ठुला तथा साना सवारी साधनको पार्किङ्ग देवघाट–५ को खेलकुद मैदानमा पार्किङ्गको व्यवस्था मिलाईएको छ । त्रिशुली नदीको झोलुङ्गेपुलमा हिड्दा नरोकिकन पंक्तिवद्ध भई विस्तारै हिड्न क्षेत्र विकास समितिले अनुरोध गरेको छ । सो पुलमा एकपटकमा एक सय जना यात्रु मात्र हिड्न दिने व्यवस्था मिलाईएको छ । बैकल्पिक मार्गको रुपमा वेणीमा प्रशस्त मात्रामा डुङ्गाहरुको व्यवस्था गरिएको छ । डुङ्गा, ¥याफ्टिङ्गबाट नदीवारपार गर्दा लाईफ ज्याकेट अनिवार्य लगाउनु पर्ने व्यवस्था मिलाईएको छ भने डुङ्गा तथा ¥याफ्टिङ्गबाट एकतर्फी भाडा ५० रुपैयाँ कायम गरिएको बरालले जानकारी दिए ।
प्राथमिक स्वास्थ्य उपचारमा तनहूँ तर्फ नेपाल रेडक्रस सोसाईटी देवघाट उपशाखाको संयोजकत्वमा नेपाल रेडक्रस देवघाट उपशाखा र देवघाट गाउँपालिका स्वास्थ्य शाखा सामुदायिक स्वास्थ्य ईकाईले आवश्यक प्राथमिक स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराउने छन् भने चितवनतर्फ नेपाल रेडक्रस सोसाईटी चितवन शाखाको संयोजकत्वमा विभिन्न स्वास्थ्य संस्थाहरुको सहयोगमा एम्बुलेन्स सहितको निशुल्क स्वास्थ्य शिविर रहने व्यवस्था मिलाईएको छ । पौष २८, २९ र माघ १ गते ३ दिनका लागि देवघाट क्षेत्रमा विद्युत अविछिन्न प्रवाह हुने व्यवस्था मिलाईएको छ । उक्त अवधिमा अत्याधिक विद्युत खपत हुने भएकोले मेला अवधीलाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रबाट बैकल्पीक व्यवस्थाका लागि १०० के भि को ट्रान्फर्मर जगेडा राख्ने व्यवस्था मिलाईएको छ । तीर्थस्थलमा धुम्रपान, मांस–मदिरा एवं सुर्ती जन्यपदार्थहरु निषेध गरिएको छ । तसर्थ उक्त वस्तुहरु विक्रि वितरण ओसार पसार एवं सेवन कार्य नगरी सहयोग पुरÞ्याई दिनुहुन सम्बन्धित सवै पक्षसँग अनुरोध गरिएको कार्यकारी निर्देशक बरालले बताए ।
बेणीमा नुहाउने स्नान क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्र भन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने संकेत दिइएको छ । साथै भक्तजन एवं तीर्थयात्रीहरुको सुविधाको लागि विभिन्न सन्देश मुलक, सूचना मुलक एवं जानकारी मुलक बोर्ड र व्यानरहरुको पर्याप्त मात्रामा व्यवस्था मिलाइएको बरालले बताए । नुहाउँदा हुनसक्ने संभावित दुर्घटनालाई ध्यानमा राखी देवघाट क्षेत्र विकास समितिबाट आकस्मिक उद्धारका लागि २ बटा काठका स्थानीय डुङ्गामा रेडक्रसको झण्डा राखी उद्धार व्यवस्था मिलाईएको छ भने ससस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरीनटार र नेपाली सेना, नयाँ सबुज गण भरतपुरबाट २÷२ वटा उद्धार याफ्टिङ्ग डुङ्गा ल्याईने बरालले बताए । साथै भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै पर्याप्त मात्रामा तनहूँ र चितवन दुवैतर्फ विभिन्न सामुदायिक बनहरुको सहयोगमा धुनीको व्यवस्था मिलाईएको छ ।
विभिन्न संघ÷संस्था, गैर सरकारी संस्था, सामुदायिक बनहरु, टोल विकास संस्था स्थानीय महिला÷आमा समूह, विद्यालयहरु, गुरुकुल, क्लव, आदि मार्फत संस्थागत रुपमा तनहूँ, चितवन र नवलपुर तिनैतर्फ १ सय ६० जना स्वयंसेवकहरु परिचालन हुनेछन् भने चितवन र तनहुँका प्रमुख जिल्ला अधिकारीको समन्वयमा सुरक्षा निकाय प्रमुखहरुबाट आवश्यक मात्रमा सुरक्षाकर्मीहरु परिचालन हुने व्यवस्था मिलाईएको छ । बाटोघाटो, विद्युत, पिउने पानी, सरसफाई, अस्थायी शौचालय आदिको उचित व्यवस्था मिलाई सकिएको छ भने पार्किङ्गको लागि सीताराम संस्कृत माविको प्राङ्गणलाई व्यवस्थित र सुरक्षित गरिएको छ । सवारी पार्किङ्ग शुल्कको दर रेटमा मेला अवधीभर साईकललाई रु. १० मोटरसाइकल रु. २० कार÷जीपभ्यानहल्का सवारी रु ५० तथा बस ट्रक हेभी सवारी साधन रु. १०० निर्धारण गरिएको छ ।
आँपटारी–देवघाट÷रामनगर–देवघाट÷ठिमुरा–देवघाट सडक खण्ड मर्मत कार्य भरतपुर महानगरपालिका र डिभिजन सडक कार्यालयको सहयोगमा सम्पन्न भएको छ । देवघाट तनहूँतर्फको खानेपानी व्यवस्थापन, देवघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट र चितवनतर्फको खानेपानीको व्यवस्थापन देवघाटधाम–कल्पबास खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट आवश्यक प्रबन्ध मिलाईएको छ । देवघाट महा–महोत्सवको तर्फबाट सार्वजानिक सौचालयको निर्माण गरिएको छ ।
तनहूँतर्फ पैदल मार्गबाट प्रवेश गर्दा पुलको मुख, हरिहर चोक, हरिहर मन्दिर, गलेश्वर चोक हुँदै बेणी संगम र फर्कदा वेणीसंगम, गलेश्वर आश्रम, गलेश्वर चोक, चक्रवर्ती मन्दिर, महेश सन्यास आश्रम, टाउन चोक, हरिहर चोक हुँदै पुलको मुख निस्कने एकातर्फी रुट कायम गरिएको छ । यस वर्ष माघे संक्रान्ति मेला भर्न पाँच लाख भन्दा बढि भक्तजन आउने देवघाट क्षेत्र विकास समितिले अपेक्षा गरेको छ ।



