कराँदीप सामुदायिक घरवास : पाहुनालाई वन तरूल,सिस्नो र खयरको चियाले स्वागत

images
  • 668
    SHARES
  • माघ २२, २०८१ मंगलबार
    कराँदीप सामुदायिक घरवास : पाहुनालाई वन तरूल,सिस्नो र खयरको चियाले स्वागत
    images

    देवघाट

    सफा बाटो, चिटिक्क परेको गाउँ कराँदीपमा २०७४ सालदेखि सामुदायिक होमस्टे (घरवास) सञ्चालनमा छ । घरवासले यहाँका स्थानीयलाई आम्दानीको स्रोतमा थोरै भए पनि टेवा पुगेको छ । तनहुँको देवघाट गाउँपालिका वडा नं–२ मा पर्ने कराँदीप गाउँमा विशुद्ध मगर जातिको बसोवास छ, जसका कारण यहाँ बस्न आउने पाहुनाले मगर जातिको मौलिक संस्कृतिसमेत हेर्न पाइने सुविधा छ ।

    टाढाबाट आउने पाहुनालाई खुसी पार्न यहाँका स्थानीयले सक्दो प्रयास गर्दै आइरहेका छन् । कौराहा नाच यहाँको प्रचलित संस्कृति हो । साँझको समयमा यहाँका मगर, मगरनीहरु भेला भई मौलिक संस्कृति देखाउने गर्दछन् । त्यसैका लागि सांस्कृतिक रोदीघरसमेत निर्माण गरेका छन् । यहाँको अर्को मह¤वपूर्ण विशेषता भनेको रैथाने खानपान नै हो । घरवासका सञ्चालक बमबहादुर मगरका अनुसार कराँदीप गाउँमा हालसम्म बजारी खानपानको प्रयोग भएको छैन ।

    पाहुनालाई मौसमअनुसारको खानपान गराउने यहाँको मुख्य प्रयोग हो । ‘हामीले मौसमअनुसारको खानपान मिलाउँदै आएका छौँ’, उनले भने, ‘जुन समयमा पाहुना आउनुहुन्छ त्यही समयमा पाइने यहाँको रैथाने खानपानबाट स्वागत गर्छौं ।’ यतिखेर कराँदीप गाउँ आउने पाहुनाले वन तरूल खान पाउँछन् । ‘धान, मकै, कोदो, मासलगायतका उत्पादन जुनसुकै समयमा पनि पाइने खाद्य वस्तु भइहाल्यो । यतिखेर हामीले पाहुनाका लागि वन तरूलको व्यवस्था मिलाउँदै आएका छौँ’, घरवासका अध्यक्ष मगरले थपे, ‘कुनै समय पिँडालु, कुनै समय वन तरूल, कुनै समय गिठा यहाँको रैथाने खाना हो ।’

    खानासँगै सिस्नो, निगुरोलगायतका सागपात पनि यहीँ उत्पादन हुने गरेको छ । आलु, मुला, काउली, काँक्रा, गोलभेडा, स्कुसलगायतका तरकारी सबै गाउँमै उत्पादन हुने हुँदा बाहिरबाट ल्याउनुपर्ने बाध्यता हालसम्म नभएको स्थानीयले बताउँदै आएका छन् । अचारका लागि टिमुरको उत्पादनसमेत गाउँमै हुन थालेको छ । तिल यहाँको पुरानै उत्पादन हो । टिमुरको उत्पादन बढाउन गाउँलेले बिरूवा रोपेका छन् ।

    ‘बरू यहाँको उत्पादनलाई हामीले बजार लगेर बेच्नु परेको छ’, घरवासका संस्थापक अध्यक्ष युवराज मगरले भने, ‘अम्रिसो, मह, प्याज, लसुन, स्कुसजस्ता उत्पादन गाउँमा मात्रै खपत नहुने हुँदा त्यसलाई गैँडाकोटसम्म लगेर बेच्नुपर्छ ।’ गाउँमा थप आयस्रोत बढाउनका लागि अम्रिसो र तेजपत्ताको उत्पादनसमेत बढाउँदै आएको उनले बताए ।

    घरवासमा बस्न आएका पाहुनाले पनि गाउँका उत्पादन धेरथोर लैजाने गरेको उनले सुनाए । गाउँमा हराउँदै गएको कागुनो, सामालगायतका अन्नबालीसमेत उत्पादन गर्न थालेका उनले बताए । ‘हाम्रा पुर्खाले लगाउने गरेका रैथाने अन्नबाली हराउँदै गएपछि नयाँ पुस्तालाई चिनाउनका लागि भने पनि कागुनो, सामाजस्ता खाद्यबालीको संरक्षणमा हामी जुटेका छौँ’, स्थानीय जनप्रतिनिधिसमेत रहेका मगरले भने ।

    अनौठो त के छ भने पाहुनालाई फरक स्वाद दिलाउनका लागि कराँदीपमा खयरको चिया खुवाउने चलन छ । स्थानीय वनमा पाइने खयरको चियाले पाहुनालाई लोभ्याउने गरेको उनले बताए । ‘हामीले बजारबाट आउने हुँदा चिनीसमेत प्रयोग गर्दैनौँ । तर, पाहुनाले चिया गुलियो नै मन पराउने हुँदा थोरै चिनी प्रयोग गर्छौं । हामीले खाँदा त नुन हालेर खान्छौँ’, उनले भने, ‘खयरको चिया यहाँको पुरानो चलन हो । खयरको दाउरा पकाएपछि चियाको प्रयोग गर्नै पर्दैन ।’

    यति धेरै विशेषता हुँदाहुँदै पनि बाटोको असुविधाले कराँदीप सामुदायिक घरवास ओझेलमा परेको छ । सडक सञ्जालले गाउँ जोडे पनि यात्रा सहज नहुँदा घरवासले सोचेजस्तो प्रगति गर्न नसकेको घरवास सञ्चालकसमेत रहेकी देवघाट–२ की वडास्तरीय महिला सञ्जालकी अध्यक्ष सीतामाया मगरले बताइन् । ‘पहिलेको तुलनामा थोरै भए पनि सुविधा बढेको छ । तर, त्यतिले यहाँको आवश्यकता पूरा हुँदैन’, उनले भनिन्, ‘बाटो सहज हुन्थ्यो भने यहाँ कति पाहुना आउँथे ।’ 

    घरवासका संस्थापक अध्यक्ष युवराज मगरले तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट पनि दक्षिणतर्फको छेउमा रहेकोले विकासको पूर्वाधारबाट निकै पछाडि भएको बताए । ‘अहिले देवघाट गाउँपालिका भएपछि पनि गाउँपालिकाको उत्तरतर्फ रहेको कर्णाली नै हो’, उनले भने, ‘सङ्घीयता लागू भएर पनि हामीले अनुभव गर्न पाएका छैनौँ ।’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend