देवघाट फागुन ७
तनहुँको देवघाट स्थित महेश संन्यास आश्रम देवघाटमा गण्डकीका जीवनहरू विषयक एकदिने कालीगण्डकी विमर्श- सभा कार्यक्रम सम्पन्न भएको छ ।

महेश संन्यास आश्रमद्वारा सञ्चालित रामानन्द अनुसन्धान केन्द्रको आयोजनामा (आज) फाल्गुन ७ गते वैदिक चेतनाका मूलस्रोत हिमवत्खण्डका पावन हिमशृङ्खलाबाट निःसृत, संसारभरका सनातनी हिन्दु समुदायको आस्थाको केन्द्र,पवित्र कृष्णागण्डकीको प्राकृतिक स्वरूप र अविरल स्वच्छ प्रवाहलाई संरक्षण गर्दै गौरवशाली गण्डकी सभ्यताको संवर्धन गर्ने उद्देश्यले आयोजित विमर्श सभा महेश सन्यास आश्रम परिसरमा भएको थियोे ।

कालीगण्डकीको धार्मिक,सांस्कृतिक,सामाजिक, पर्यावरणीय तथा पर्यटकीय महत्त्वको पहिचान र मानवीय अतिक्रमणको निदानका निम्ति साझा विचार र योजना निर्धारण गर्ने र पवित्र कालीगण्डकी नदीको प्राकृतिक स्वरूप र संरचना संरक्षणका निम्ति जनस्तरबाट गरिनुपर्ने साझा पहल र सूचना निर्धारण गर्ने उद्देश्यले अभियन्ता र सरोकारवालाहरूको बृहत् सहभागितामा सो विमर्श सभा भएको महेश सन्यास आश्रमका प्राचार्य फरिन्द्र प्रसाद पौडेलले बताउनु भयो । सो कार्यक्रमका प्रमुख अतिथि सन्त समाज नेपालका अध्यक्ष एवं हरिहर संन्यास आश्रमका पिठाधीस श्री १००८ स्वामी जानानन्द सरस्वती महाराजले कालीगण्डकी एक माता हो यसको संरक्षण गर्नु हामी सबै सबैको कर्तव्य रहेको बताउनुभयो ।

सोही अवसरमा अध्यक्ष महाराजले भन्नुभयो कृष्णगण्डकी जस्तो पवित्र गण्डकीलाई प्वाल पारी खोलामा परिणत गरेर विकासका काम गर्ने सोच बोकी केही नेताहरू अगाडि बढेको देखिन्छ , कृष्णगण्डकी कुलोमा परिरत गरेर सिंचाइ गर्ने योजना धेरैले बनाएको छ तर कृष्णगण्डकीको पानी त्यो पानी होईन कुलोमा लगी प्रख्यात गरिदिन यो त शुद्ध जल हो,जल पनि होइन अमृत हो महाराजले भन्नुभयो । साधुसन्त महात्महरू विकासका विरोधी भन्छन तर हामी विकास विरोधी होईनौ,"कृष्ण गण्डकीको संरक्षण गर्नु हाम्रो दायित्व हो" उनले भने । कृष्णगण्डकी र तिनाउ डाइभर्सनको जटिल विषय अगाडि बढेको छ । तर यदि कालीगण्डकी डाइभर्सन गरियो भने देवघाट लगायत कृष्णगण्डकी माथिको पवित्र क्षेत्रको समेत अस्तित्व नरहने महाराजले बताउनुभयो ।

सोही क्रममा महाराजले भन्नुभयो कृष्णगण्डकीको महत्त्व बुझ्ने हो भने कृष्णगण्डकीलाई दामुदर कुण्ड देखि देवघाट सम्म छुनै हुदैन, कालीगण्डकी एक यस्तो शक्तिशाली गंगा हो जहाँ मान्छेको हड्डीलाई पत्थर बनाउनुका साथै सेतो पत्थर बनाई कालो पत्थरमा परिणत गरि चक्र लेख्न सक्ने शक्तिशाली छ जुन शक्ति कुनै पनि नदिमा छैन । आजको यस विमर्श सभामा कालीगण्डकी नदीको प्रचारप्रसार,संरक्षण र संवर्धनमा लागिपरेका अभियानकर्मी, सरोकारवाला,स्थानीय निकाय, मठमन्दिर आश्रम तथा स्थानीय जनसमुदायको सहभागिता रहको थियो ।

कानुनी प्रक्रियाबाट नदी संरक्षणमा गरिएका पहलहरू,दोहन तथा अतिक्रमणका विरूद्धमा भएका प्रयासहरू,पुराण तथा शास्त्रहरूमा वर्णित गण्डकी सभ्यता र त्यसको महत्त्व, शालग्रामको महत्त्व आदि विषयमा विमर्शहरू भएको थियोे । सो कार्यक्रमका विषेश प्रस्तोता जगदनाथ रेग्मीले भन्नुभयो मानवीय अतिक्रमणबाट पवित्र कालीगण्डकी नदीलाई जोगाउन जनस्तरबाट गरिनुपर्ने पहल र सूचनाको निर्धारण गर्दै नदीको प्राकृतिक स्वरूप बिग्रिन नदिई स्वच्छ रूपमा निरन्तर प्रवाहित गर्दै, हिमाली दर्शन र गण्डकी सभ्यताको संरक्षण गर्नु विमर्शको उद्देश्य हो ।
कालीगण्डकी विमर्श सभाले पारित गरेको गण्डकी घोषणापत्र २०८१
१.पवित्र कालीगण्डकी नदीलाई संसारभरका हिन्दु सनातनीहरूको साँस्कृतिक सम्पदा र नेपालको राष्ट्रिय नदीका रूपमा स्थापित गर्न अभियान सञ्चालन गर्ने,
२. कालीगण्डकीको प्राकृतिक स्वरूप र अविरल स्वच्छ प्रवाह सुरक्षित गर्ने,
३. गण्डकीको तल्लो तटीय क्षेत्रसम्म शालग्रामको निर्बाध उपलब्धतामा बाधा व्यवधान गर्ने मानवीय अतिक्रमण र दोहनको विरोध गर्ने,
४. गण्डकीका गर्भक्षेत्रमा हुने मानवीय प्रदूषण (फोहोर,मैला, मल-मूत्र विसर्जन) को निराकरणका निम्ति जनचेतनाका कार्यहरू गर्ने,
५. कृष्णागण्डकीको दुर्लभ महत्त्व र सौन्दर्यको प्रचार-प्रसार गरी धार्मिक पर्यटनको प्रवर्धनका निम्ति सन्तहरूको अगुवाइमा कृष्णागण्डकी पदयात्रा आयोजना गर्ने,गरी ५ वटा बुदामा पारित गरिएको छ ।
उक्त कार्यक्रममा कालीगण्डकीको विभिन्न क्षेत्रमा रहेर अध्ययन,अनुसन्धान तथा अभियान सञ्चालन गर्ने विशिष्ट व्यक्तिहरू ईश्वरी जनकदेव शोधवृत्ति पुरस्कारबाट नगदसहित सम्मानित भएका थिए । भने उक्त कार्यक्रममा रामचन्द्र बराल,आर्के अधिरिक्त गिरि,रचना भट्टराई, कुलराज चालिसे लगायतले कालीगण्डकीको विषयमा विभिन्न कुराहरू राख्नुभएको थियोे ।

कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा,उपाध्यक्ष भुवन सिं गुरूङ,अनुसन्धान पुस्तकालय नारायणगढका चिरञ्जीवी श्रेष्ठ,ब्रहम्माचारी केशबानन्द,श्री १००८ स्वामी जगदिसानन्द सरस्वती देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम बहादुर राना,कार्यकारी निर्देशक सदन बराल,देवघाट-५ वडाका अध्यक्ष पूर्ण बहादुर कुँवर लगायत विभिन्न बुद्धिजीवी व्यक्तिहरूको सहभागीता रहेको थियोे । सो कार्यक्रम महेश सन्यास आश्रमका पिठाधीस श्री १००८ स्वामी रमणानन्द गिरिको अध्यक्षतामा सम्पन्न भएको थियोे ।



