देवघाट तनहुँ : मंसिर १४ गते
देवघाटधाम जेसीज ( प्र.) ले जेसीज सप्ताह - २०२२ विभिन्न कार्यक्रमको आयोजना गरेर शुभारम्भ गरिएको छ ।

सप्ताहको पहिलो दिन आज पवित्र तिर्थस्थल देवघाटधामको बेनी संगम परिसरमा सरसफाई कार्यक्रम गरी जेसीज सप्ताहको उद्घाटन गरिएको हो । हरेक वर्ष जेसीजहरूको महान चाडको रूपमा लिएको जेसीज सप्ताह कार्यक्रम आज देवघाटधाम जेसीजले पनि विभिन्न कार्यक्रमहरू संचालन गरेर भब्यताका साथ मनाइएको छ ।

"मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो" भन्ने जेसीज आस्था अनुसार जेसी अर्जुन पौडेलको संयोजकत्वमा आज बिहान देवघाट बेणी संगममा सरसफाइ कार्यक्रम भएको छ भने जेसी मोहन चन्द्र पोख्रेलको संयोजकत्वमा देवघाट गाउँपालिकाको सभा हलमा कर तथा लेखा सम्बन्धि तालिम सम्पन्न भएको छ भने जेसी अर्जुन सुवेदीको संयोजकत्वमा देवघाट ५ घिनाटार स्थित रहेको चक्रवर्ती आधारभूत विद्यालयमा स्टेशनरी तथा पुस्तक वितरण गरिएको छ । त्यस्तै जेसी भिमलाल न्यौपानेको संयोजकत्वमा कालिका माध्यमिक विद्यालय देवघाट ५ क्युँदीमा लागुपदार्थ दुर्व्यसनी सचेतना कार्यक्रम गरी भव्यताका साथ सप्ताहको पहिलो दिन मनाइएको छ ।

सो सरसफाई अभियान सँगै लागुपदार्थ दुर्व्यसनी सचेतन कार्यक्रममा इलाका प्रहरी कार्यालय देवघाटका वरिष्ठ नायब निरिक्षक भेषराज रेग्मीले कालिका माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए । रेग्मीले लागुपदार्थ भनेको के हो ? यसमा बालबच्चाहरू कसरी फस्छन् ? र यसबाट कसरी बन्चित गराउने र आफ्ना बच्चाहरूलाई कसरी सचेतना दिन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

देवघाटधाम जेसीजको पहिलो जेसीज सप्ताह- २०२२ कार्यक्रम विभिन्न सेवामूलक कार्यक्रम गरेर मनाइने देवघाटधाम जेसीज ( प्र. ) का अध्यक्ष जेसी विकास सापकोटाले बताए । सापकोटाले स्थापना भएको पहिलो वर्षको सप्ताह भएकोले विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाइएको बताए । देवघाटधाम जेसीज प्र.का महासचिव जेसी प्रकाश ढुंगानाले कार्यक्रम सञ्चालन गरेका थिए भने सो कार्यक्रममा नेपाल पत्रकार महाँसघ गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा र देवघाटधाम जेसीजका सम्पूर्ण जेसीहरूको सहभागितामा कार्यक्रम भएको थियो।








