देवघाट
गाउँपालिकाका कर्मचारीमाथि स्थानीद्वारा अभद्र व्यवहार गरेको भन्दै गाउँपालिकाका कर्मचारीले आपत्ति जनाएका छन्। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीमाथि आक्रमण गर्नेलाई कारवाहीको मागसमेत गरिएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् लेखा अधिकृत उमानाथ ढकाल र लेखापाल सञ्जय शर्मामाथि सोमबार दिउँसो दुर्व्यवहार भएको थियो।

सोही घटनालाई लिएर गाउँपालिकाका कर्मचारीहरूले यथाशीघ्र दोषी पत्ता लगाइ कारवाही गर्नसमेत माग गरेका छन्। आफ्ना कर्मचारीहरूको सुरक्षाको प्रत्याभूतिका लागि गाउँपालिकालाई समेत आग्रह गरिएको छ। स्थानीयको कुटपिटका कारण दुई कर्मचारी घाइते भएको भन्दै उनीहरूको स्वास्थ्योपचारको समेत माग गरिएको छ । साथै पीडित पक्षलाई उचित क्षतिपूर्तिको माग गरिएको छ।

कर्मचारीहरूले गाउँपालिकामा सहर्ष सहज तरिकाले काम गर्ने वातावरण बनाइदिन भन्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन्।
गाउँपालिकाका कर्मचारीमाथि हातपात भएको भन्दै कर्मचारीहरूको विभिन्न संगठनले जिल्ला प्रशासन कार्यालय दमौलीमा ज्ञापनपत्र बुझाएका छन्। कुनै पनि बहानामा दोषीलाई छूट दिन नहुने भन्दै कर्मचारीसम्वद्ध विभिन्न संघसंगठनले संयुक्तरूपमा प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका हुन्।
निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, तनहुँका उपाध्यक्ष रामचन्द्र पण्डित, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) तनहुँका अध्यक्ष तीर्थबहादुर थापा, नेपाल निजामति कर्मचारी संगठन, तनहुँका अध्यक्ष रूद्रसिंह ठकुरी र नेपाल निजामति कर्मचारी युनियन, तनहुँका अध्यक्ष नारायणप्रसाद अधिकारीको संयुक्त हस्ताक्षरमा प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाइएको हो। उनीहरूले सरकारी कर्मचारीमाथि अमानवीय व्यवहार भएको समेत आरोप लगाएका छन्।




