उत्तरी गोरखामा पहिरोको समस्या सधैं उस्तै ,

images
  • 180
    SHARES
  • कार्तिक ५, २०७८ शुक्रबार
    उत्तरी गोरखामा पहिरोको समस्या सधैं उस्तै ,
    images

    गोरखा, ५ कार्तिक । उत्तरी गोरखामा पहिरोले बाटो बगाएपछि स्थानीयबासीले आवतजावतमा सास्ती खेपिरहेका छन् । ठाउँठाउँमा बाटो पहिरिएर बूढीगण्डकीमा झरेपछि स्थानीयबासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

    1.jpg

    मनसुन सकिएपछि केही दिनअघिको लगातारको बर्षाले सिर्दिबासको चिसापानी र गम्पुल बीचमा पहिरो झरेको छ । पहिरोका कारण केहीदिनदेखि आवतजावत अबरुद्ध भएको सिर्दिबास प्रहरी चौकीले जनाएको छ ।


    गत भदौ २ गते चुम्चेतको ङुयुखोलामा झरेको पहिरो र क्याण्टिलिभर पुलमा क्षति पुग्दा चुम उपत्यका जाने बाटो अहिलेसम्म अबरुद्ध छ । सो ठाउँमा बाटो अवरुद्ध हुँदा लामो समयदेखि स्थानीयबासीका लागि खाद्यान्न ढुवानी गर्न नसकिएको चुमनुब्री गाउँपालिका ७ का वडाअध्यक्ष पासाङफुञ्जो लामाको भनाइ छ ।

     

    धार्चे र चुमनुब्रीको सीमाना यारुभन्दा केही तलको बाटोमा झरेको पहिरोका कारण स्थानीयबासी र पर्यटक जोखिम मोलेर हिड्न बाध्य छन् ।

    चुमनुब्री ४ लोङ्गाछ्योतमा ठूलो पहिरो झरेको छ । सो पहिरो पार गर्न पनि ज्यान जोखिममा राखेर हिड्नु पर्ने वडाअध्यक्ष पेमाडुण्डुप लामा बताउँछन् ।

    ‘दुर्गमका बासिन्दाले अरु विकासको स्वाद त चाख्न पाएनन्, हिड्ने बाटो समेत पाएका छैनन्’, चुमनुब्री ४ का वडाअध्यक्ष पेमाडुण्डुप लामाले भने, ‘सयौँ बर्षअघि बाजेको पालादेखि भोग्दै आएको समस्या अहिलेसम्म पनि ज्यूँकात्यूँ छ । कति व्यवस्था फेरियो, कति सरकार फेरियो गनिसाध्यै छैन तर हाम्रो समस्या उस्ताको उस्तै छ । हाम्रो पनि सरकार छ भनेर अनुभूति गर्न पाइएको छैन ।’

    2.jpg

    पहिरो हटाएर सुरक्षित आवतजावत गर्ने वातावरण बनाइदिन सांसद, नेता, मन्त्रीहरुलाई अनुरोध गरिएको तर सबैले नजरअन्दाज उनले बताए ।


    पहिरो हटाएर बाटो सुचारु गर्न धेरै नेता, मन्त्री, सांसदहरुलाई हार गुहार गरेको तर अहिलेसम्म समस्या उस्तै रहेको वडा नं. ७ का वडाअध्यक्ष लामाको गुनासो छ ।

    ‘जिल्लाको सिडियोसापलाई पनि बारम्बार यस बिषयमा ज्ञापनपत्र बुझाइएको छ । म आफैले र हाम्रो क्षेत्रका अगुवाहरुले गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, उर्जामन्त्रीलाई पटक पटक ज्ञापन पत्र, ध्यानाकर्षण पत्र बुझाएका छौँ’, लामाले भने, ‘तर सबैले हुन्छ, हामी पहल गर्छौँ मात्र भन्छन्, समाधान गर्दैनन् ।’

    बाटोमा मान्छे, बस्तुभाउ हिड्न र खाद्यान्न ढुवानी गर्न नपाउँदा स्थानीयबासीले धेरै समस्या ब्यहोर्नु परेको स्थानीयबासीको गुनासो छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend