महेश गुरुकुलमा रामानन्दप्रज्ञा प्रतियोगिता सम्पन्न

images
  • 228
    SHARES
  • माघ १०, २०७९ मंगलबार
    महेश गुरुकुलमा रामानन्दप्रज्ञा प्रतियोगिता सम्पन्न
    images

    देवघाट तनहुँ : माघ १० गते

    महेश संन्यास आश्रममा रामानन्द अनुसन्धान केन्द्र -RRC को संवर्धनार्थ आयोजित भूमिदान महाअभियान एवम् गीताज्ञान महोत्सव २०७९ को तृतीय दिन आज भव्यताका साथ सम्पन्न भएको छ । महोत्सवको अर्को आकर्षणका रुपमा आज रामानन्दप्रज्ञा शास्त्र कण्ठस्थीकरण प्रतियोगिता सम्पन्न भएको छ । जनमानसमा संस्कृत प्रतिको मोह देखिए पनि आधारभूत ज्ञानको अभावका कारण सुसंस्कृत वैदिक सभ्यताको ज्ञान गर्न असमर्थ परिस्थितिको मध्यनजर गर्दै संस्कृतवाङ्मयको आधारभूत ग्रन्थ लघुसिद्धान्तकौमुदी र अमरकोशको कण्ठस्थीकरण प्रतियोगिता गरिएको आयोजक संस्थाले बताएको छ ।

    325032651_554173220087165_1133611400121761543_n.jpg

    शास्त्र कण्ठस्थिकरण ,बोध प्रश्न र सङ्कासमाधान गरी तीन चरणमा शास्त्रार्थ प्रतियोगिता सम्पन्न भएको छ भने दुवै ग्रन्थमा देशका विभिन्न गुरुकुलका ७/७ प्रतियोगि रहेका थिए । महेश संन्यास आश्रमका संस्थापक स्वामी रामानन्द गिरिको स्मृतिमा आयोजित प्रतियोगिता विहान ८ बजेबाट सुरु भएको थियो भने गीता रहस्य उद्बोधनमा महामण्डलेश्वर अनन्तविभूषित स्वामी आत्मानन्द गिरिले गीतारहस्य प्रस्तुत गरेका थिए । त्यस लगत्तै काठमाण्डौँ विश्वविद्यालय मनोचिकित्सा विभागका प्रा डा. अजय रिसालले श्रीमद्भागवतगीतामा मनोचिकित्सा विषयमा श्रव्य दृश्य माध्यमबाट उद्बोधन गरेका थिए । अर्जुन मनोरोगको श्रीकृष्ण चिकित्साद्वारा उपचार गरेकाले मनोचिकात्सामा गीताको महत्त्व रहेको र डा रिसाललाई गीताले मार्गदर्शन गरेको प्रसङ्ग पनि सुनाएका थिए ।

     

    डिप्रेसन तथा एन्जाइटिको सिकार भएका मनोरोगीहरूलाई गीताद्वारा तनाव मुक्त गर्न सकिने र समाजलाई नै मानसिक रुपमा सन्तुलित राख्न गीतामात्र एक साधन भएको कुरा पनि डा रिसालले प्रस्तुत गरेका थिए । त्यसैगरी डा विमलानन्द सरस्वतीले गीतामा ज्ञानयोग विषयमा उद्बोधन गरेका थिए । अन्त्यमा पीठाधीश स्वामी रमणानन्द गिरिले आजको समीक्षा सहित गीतामा व्यावहारिक पक्ष प्रस्तुत गरेका थिए । दाता सम्मान तथा अन्य अनुष्ठानहरू पनि भव्यताका साथ चलिरहेका छन् । गीताज्ञान महोत्सव १२ गतेसम्म चल्नेछ भने भूमिदान अभियान माघ महिनाभरिनै चलिरहने आयोजकले बताएका छन् । कार्यक्रममा पूर्वदेखि पश्चिमसम्मका भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको पनि आयोजक संस्थाले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend