देवघाट फागुन २८
ऐलानी जग्गाको माटो उत्खनन गरेको भन्दै देवघाटका स्थानीयले गाउँपालिकामा गुनासो गरेका छन् । वडा नं.५ को कालीमाटी र डण्डाबारी र अन्य भुभागमा ऐलानी जग्गाको माटो उत्खनन गरेको भन्दै त्यसलाई रोक्न स्थानीयले माग गरेका छन् । रातिराति स्काभेटर,जेसिभी लगाएर माटो निकाल्ने काम भइरहेको एक स्थानीयले बताए । अवैध उत्खनन गरेपछि इलाका प्रहरी कार्यालय देवघाटले नियन्त्रणमा लिने र कारवाही गर्ने काम पनि गरिरहेको छ । तर,राजनैतिक पहुँचका आधारमा माटो निकालेको हुँदा प्रहरी र गाउँपालिकालाई पनि काम गर्न असहज भएको हुन सक्ने स्थानीयको आशंका छ । आफूहरूलाई झुक्यानमा पारी चारकिल्लाको अनुमति लिएर रातारात माटो निकालेको स्थानीयले आरोप लगाएका छन् । ‘राजनैतिक दबाबका कारण गाउँपालिकाका कर्मचारीले पनि सोचेअनुसार अनुगमन गर्न सक्दैनन,’ स्थानीयले भने, ‘पहुँचकै आधारमा नम्बरी जग्गाको अनुमति लिएर ऐलानी जग्गामा माटो निकालेको छ ।’

अवैध तरिकाले माटो निकालेर गाउँपालिकाको राजस्व गुमाउने काम स्वयं जनप्रतिनिधिहरू नै बताउँछन् । अवैध तरिकाले ऐलानी जग्गाको माटो उत्खनन कार्य गर्नेलाई राजस्वको दायरामा ल्याएर काम गर्न प्रयास गर्दा असफल भएको जनप्रतिनिधिहरू बताउछन् । यसलाई रोक्नको लागि पालिकामा ताकेता गर्दा पालिकाले पनि आलटाल गर्दै आएको उनीहरूको आरोप छ । ‘गाउँपालिकाले राजस्व गुमाउनु राम्रो भएन । त्यसबाहेक गाउँपालिकालाई राजस्व आउँछ भन्दैमा जनतालाई असर पर्ने गरी काम गर्नु पनि हुँदैन,’ उनीहरू भन्छन् । गाउँपालिकाले भने कानुनअनुसार बाहेकका कुनै पनि काममा गाउँपालिकाले छूट नदिएको बताएको छ । अध्यक्ष तिलबहादुर थापामगरका अनुसार स्थानीयबाट गुनासो आएका छन् । तर, पालिकाले कालीमाटीमा पाँच हजार घनमिटर र डण्डाबारीमा ५ हजार घनमिटर माटो निकाल्ने अनुमति दिएको अध्यक्ष मगरले बताए । ‘हामीले पुर्जावाला जग्गामा माटो निकाल्ने अनुमति दिएका हौँ, तर स्थानीबाट ऐलनी जग्गाको माटो निकालेको गुनासो आएका छन्,’ उनले भने, ‘यस विषयमा अध्ययन भइरहेको छ ।’

नियमविपरीत स्थानबाट तथा अनुमति दिएभन्दा बढी उत्खनन गरेको पुष्टि भएमा कारबाही गर्न पछि नहट्ने उनले बताए । गुनासो आउन थालेपछि पालिकाले प्राविधिक पठाएर अनुगमन बढाएको उनको दाबी छ । नियमविपरीत काम गरेको पाइएको खण्डमा इलाका प्रहरी कार्यालयमार्फत कारवाही गराउँदै आएको उनको भनाइ छ । नियमविपरीत प्रयोग भएको डोजर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको उनले बताए । त्यसबाहेक टिपरलाई समेत पटकपटक जरिवाना तिराइसकिएको अध्यक्ष थापाले बताए । इलाका प्रहरी कार्यालय देवघाटले पनि स्थानीयबाट गुनासो आएपछि गाउँपालिकासँगको समन्वयमा अनुगमन गरिरहेको बताएको छ । माटो उत्खननमा कमजोरी भेटिए कानुनअनुसार कारवाही गर्ने इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख एवम् प्रहरी नायव निरीक्षक कृष्णबहादुर बानियाँले बताए । कानुनअनुसार ऐलानी जग्गाको माटो उत्खनन गर्न पाइँदैन तर सामाजिक काम कार्यको लागि चाहिँ टोल विकास सँस्था र वडाको सिफारिस अनुसार स्थानीय सहमतिमा सामुदायिक काम मठमन्दिर,बाटो बिस्तार गर्न, नयाँ बाटो खुलाउन विद्यालयको आदिको कामकाजको लागि अवरोध नहुने जनप्रतिनिधिको भनाइ छ ।



