देवघाट तनहुँ: फाल्गुन १३
राष्ट्रिय युवा संघ नेपाल देवघाट गाउँपालिका कमिटीका अध्यक्ष पदमा सुकुलाल गुरूङ निर्विरोध चयन भएको छ । आज संघको तेस्रो अधिवेशनबाट गुरूङ अध्यक्ष पदमा निर्विरोध चयन भएको हो ।

गुरूङ सहित ३१ सदस्यीय समिति गठन भएको छ जसमा अध्यक्ष पदमा सुकुलाल गुरूङ,उपाध्यक्ष पदमा नर बहादुर थापा, सचिव पदमा विष्णु प्रसाद पाण्डे,सह-सचिव पदमा किरण मल्ल र एक मायाँ गुरूङ, कोषाध्यक्ष पदमा मेख बहादुर मगर गरी ३१ सदस्यीय समिति गठन भएको छ ।

संघको तेस्रो अधिवेशन समारोह कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले तनहुँ जिल्ला उपाध्यक्ष हरिराज कंडेलले सम्पूर्ण नयाँ समितिलाई बधाई दिदैँ युवा पुस्ताहरू सकृयताका साथ अघि बढ्नुपर्छ भने । कंडेलले युवाहरू देशको गहना हो भन्दै संगठन भित्रमा कमिकमजोरी भैरहन्छ त्यसलाई सुधार्दै अगाडि बढ्न आग्रह गरे । उनले राष्ट्रिय युवा नेपाल नेकपा एमालेको मेरूदण्ड हो हामी एकजुट भएर अघि बढ्नुपर्छ भन्दै "सुखी नेपाली, समृद्ध नेपाल" भन्ने नारालाई सफल पार्न एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताए ।

अहिले राजनीतिमा धेरै फेरबदल भैरहेको छ त्यसमा युवा संघको अति महत्त्वपूर्ण भुमिका रहने भएकोले निरन्तरता दिनुपर्ने कंडेलले बताए । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल तनहुँ जिल्ला अध्यक्ष मदन तिमल्सेना,तनहुँ जिल्ला युवा संघ इन्चार्ज देवान गुरूङ,युवा संघ तनहुँ सह-सचिव सुरेन्द्र तामाङ्ग,युवा संघ नेपाल व्यास नगरपालिकाका अध्यक्ष अजित पन्त,युवा संघ नेपाल शुक्लागण्डकी नगरपालिका अध्यक्ष भगवान पुन, नेकपा एमाले जिल्ला कमिटी सदस्य शिवराज पौडेल,नेकपा एमाले देवघाट गाउँ कमिटीका अध्यक्ष केशव चन्द्र न्यौपाने लगाएत उपस्थिति रहेको थियोे ।




